महानगरको वडा नम्बर ३० लालपर्सामा स्वास्थ्य चौकी ल्याबबाट रगत,दिशा र पिसाबसंगै सम्बन्धित ३७ प्रकारका रोगको परीक्षण सुरु

जितपुर २४असोजः वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला(ल्याब)सञ्चालनमा आएको छ ।शुक्रबार वडाध्यक्ष मनोजकुमार यादवले स्वास्थ्य प्रयोगशालाको औपचारिक रुपमा उद्घाटन गरेसंगैं ल्याबको सेवा सञ्चालनमा आएको ल्याबका इन्चार्ज आदित्य चौरसियाले जनाए।

ल्याब सञ्चालनमा आएसंगै वडा नम्बर ३० का स्थानीयलाई रगत,दिशा र पिसाबको परीक्षणका लागि वीरगन्ज शहरका अस्पताल र क्लिनिकहरुमा धाउनुपर्ने बाध्यता हटेको वडाध्यक्ष यादवले जनाए। वडाका बासिन्दालाई आफ्नै गाँउघरमा सर्वसुलभ दर रेटमा ल्याब सेवा उपलब्ध गराउनका लागि लालपर्सा स्वास्थ्य चौकीमा ल्याब स्थापना गरी सञ्चालनमा ल्याइएको उनले बताए ।

ल्याब इन्चार्ज चौरसियाका अनुसार, लालपर्सा स्वास्थ्य चौकीमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको ल्याबबाट रगत,दिशा र पिसाबसंग सम्बन्धित ३७ प्रकारका रोगको परीक्षण गरिनेछ ।

ल्याबमा मलेरिया,डेंगु र एचआइभीको परीक्षण निःशुल्क हुनेछ भने एकल महिलाका लागि सबै परीक्षण निःशुल्क गरिएको वडाध्यक्ष यादवले बताए ।