कार्तिक ७ जितपुर : छठ पर्व नजिकिँदै गर्दा वीरगञ्ज महानगरपालिका–३२, चोर्नी पर्सास्थित मेक्सोल प्रा.लि. का प्रशासन अधिकृत काशिनाथ तिवारी माथि स्थानीयवासीहरूले कालो मोबिल दलेर विरोध गरेका छन्।
स्थानीयवासीका अनुसार कम्पनीबाट निस्कने ‘म्याक्सोल ल्युब्रिकेन्ट’ उत्पादन प्रक्रियामा प्रयोग भएका रासायनिक फोहोर पदार्थहरू सिधै नजिकैको नदीमा मिसाइँदै आएको छ, जसका कारण कियासति नदीको पानी अत्यधिक प्रदूषित र दुर्गन्धित बनेको छ।प्रदूषित पानीका कारण स्थानीय बासिन्दा र छठ पर्वका व्रतालुहरू स्वास्थ्य जोखिममा परेका भन्दै आक्रोशित स्थानीयहरूले लामो समयदेखि कम्पनीविरुद्ध प्रदर्शन गर्दै आएका थिए। एक सातादेखि निरन्तर भइरहेको विरोधप्रदर्शनपछि माग सुनुवाइ नभएपछि आज (शुक्रबार) चोर्नीका करिब ३० देखि ४० जना स्थानीयको समूह कम्पनी परिसरमै प्रवेश गरी हो-हल्ला र विवाद गरेका थिए। विवादकै क्रममा कम्पनीका जिम्मेवार अधिकारीहरूलाई लक्षित गरी कालो मोसो दलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
घटनालगत्तै प्रहरी चौको परवानोपुर र वडा प्रहरि कार्यालय श्रीपुर पर्साबाट प्रहरी टोली खटिएर स्थिति नियन्त्रणमा लिएको केहि स्थानीयहरुले नवजोश खबरलाई जानकारी गराए।
स्थानीयवासीहरूले भने प्रदूषण नियन्त्रणका लागि कम्पनीलाई तत्काल कारबाही गर्न र दूषित पानी फाल्ने गतिविधि रोक्न माग गरेका छन्। उनीहरूको भनाइमा, छठ पर्वको बेला यस्तो प्रदूषणले धार्मिक भावना र सार्वजनिक स्वास्थ्य दुवैमा आघात पुर्याएको छ।

