बारामा तिहार,छठलाई लक्षित गर्दै सशस्त्र प्रहरीका डि एस पि र ईलाका प्रहरी कार्यालयकाका घुमुवाको मिलोमतमा तस्करीको लाइन खोलियो।

कार्तिक ७ बारा । बारा जिल्लाको ग्रामीण सीमा नाका छतवा पछिल्ला केही हप्तादेखि तस्करीको सहज मार्गका रूपमा पुनः चर्चामा छ। तिहार र छठ पर्व नजिकिँदै जाँदा भारततर्फबाट अबैध रूपमा कपडालगायतका सामग्री नेपाल भित्रिने क्रम तीव्र बनेको छ। स्थानीयहरूको आरोप छ कि प्रहरीको निगरानी भन्दा पनि संरक्षणका कारण तस्करी अझ निर्बाध बनेको छ।

स्थानीयवासीका अनुसार इलाका प्रहरी कार्यालय प्रसौनीका घुमुवा अवधेश मुखियाको सक्रियतामा छतवा, कान्तिपुर र कल्याणपुर नाकाबाट भित्रने अवैध सामान कुनै अवरोधबिनै जितपुर बजारसम्म पुर्‍याइने गरिएको छ। उनीहरूको भनाइमा रातिको निस्पट्ट अँध्यारोमा तस्करहरूको लस्कर पार हुनै गरेर गुडिरहे पनि प्रहरी मौन देखिन्छ। “अपाङ्गले बोकेको थैलासमेत हेर्ने प्रहरीलाई ठूलो ट्रक किन नदेख्ने?” स्थानीयको व्यङ्ग्ययुक्त प्रश्न छ।

यसबीच, तस्करी नियन्त्रणको जिम्मेवारी पाएका बोर्डर आउट पोस्ट (बीओपी) बरैनियाका एक प्रमुखले तस्करीको रकम अस्वीकार गरेपछि मटिअर्वास्थित सशस्त्र प्रहरी गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक धनबहादुर राणा र प्रसौनी पक्षबीच सेटिङ मिलाई ती अधिकृतलाई बिदा पठाइएकाे दाबी पनि स्थानीयहरूले गरेका छन्। यिनै आरोपअनुसार त्यसपछि छतवा नाकाबाट तस्करीको मार्ग झनै खुला गरिएको हो।

जितपुरका कुख्यात तस्करका रूपमा परिचित सरोज भनिने व्यक्तिले छतवा नाकाबाट आउने कपडालगायतका अवैध सामग्री प्रहरीकै सुरक्षा व्यवस्था बीच बजारसम्म पुर्‍याउने गरेको स्थानीयले बताएका छन्। यता तस्करीमा संलग्न एक श्रोतको भनाइअनुसार छतवा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षकलाई मासिक एक लाख रुपैयाँ र मटिअर्वा गुल्म प्रमुख राणालाई दुई लाख पच्चीस हजार रुपैयाँ बुझाउने गरिएको स्वीकार नै तस्कर पक्षबाट आएको छ। प्रसौनी घुमुवाले कति रकम लिने गर्छन् भन्नेबारे भने स्रोत मौन छ।

उक्त गम्भीर आरोपबारे स्पष्टिकरण मागिएकोमा सशस्त्र प्रहरी नायब उपरीक्षक धनबहादुर राणाले केही कमजोरी रहेको स्वीकार गर्दै “केटाहरूको कारण अलि अलि छोडिएको रहेछ, अब कडाइ गर्छौँ” भन्ने प्रतिक्रिया दिएका छन्।

छतवा नाकाबाट खुलेरै भइरहेको तस्करी नियन्त्रण गर्नका लागि सुरक्षा निकाय सक्रिय देखिनुपर्ने स्थानीयको अपेक्षा छ। उनीहरूका अनुसार प्रहरी नै संरक्षणदाताका रूपमा रहिरहँदा सीमा अपराध नियन्त्रणको कुरा सुनिरहेको खोक्रो भाषणजस्तै मात्र देखिन्छ।