सिमरा डुमरवाना अन्तर विद्यालय फुटबल प्रतियोगिता सम्पन्न, सिमरा पब्लिक र मिसन एकेडेमी च्याम्पियन

जितपुर ९ मंसिर: बाराको सिमरा रंगशालामा जारी प्रथम सिमरा डुमरवाना अन्तर विद्यालय फुटबल प्रतियोगिता बुधबार भव्य रुपमा सम्पन्न भएको छ। सिमरा डुमरवाना स्कुल हबको आयोजनामा सम्पन्न प्रतियोगितामा सिनियरतर्फ सिमरा पब्लिक स्कूलले उपाधि हात पार्यो भने जुनियरतर्फ मिसन एकेडेमी विजेता बन्न सफल भयो।

समापन समारोहको अध्यक्षता हबका अध्यक्ष बसन्त ढकालले गरेका थिए भने बारा जिल्ला फुटबल सङ्घका अध्यक्ष रामचन्द्र लामा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। प्रमुख अतिथि लामाले जिल्लामा ग्रासरुट लेभलबाट खेलकुद विकास गर्न जिम्मेवार संस्था नै अघि नसक्दा विद्यालयस्तरका यस्ता पहलले फुटबलको भविष्य उज्जवल बनाइरहेको टिप्पणी गरे। उनले स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको बताउँदै आगामी दिनमा संघबाट पनि यस्ता प्रतियोगितालाई प्राथमिकता दिइने बताए।

निजी विद्यालयहरूले बालबालिकाको सीप विकास र मनोबल वृद्धि गर्न निरन्तर विभिन्न प्रतियोगिता गर्दै आएको उल्लेख गर्दै वक्ताहरूले सामुदायिक विद्यालयहरूले पनि समान उत्साहका साथ खेलकुद कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएका थिए।

जुनियरतर्फ फाइनल खेलका म्यान अफ द म्याच सन्देश यादव र सिनियरतर्फ मिसन एकेडेमीकै प्रिन्स थापा मगर घोषित भए। दुवै जनालाई मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगिता मंसिर २ गतेदेखि सुरु भएको हो। हबका कोअर्डिनेटर सुबास अधिकारीका अनुसार १२ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिता उच्च उत्साहका साथ सम्पन्न भएको हो। समापन समारोहमा अध्यक्ष ढकालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संघ–संस्थाप्रति आभार व्यक्त गर्दै आगामी वर्ष अझ भव्य प्रतियोगिताको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

समारोहमा एन–प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, एकता बोर्डिङ स्कुलका प्रिन्सिपल मदन रिजाल, राष्ट्रिय बिभूति शिक्षा सदन डुमरवानाका प्रिन्सिपल सागर ठाडा मगर लगायतको उपस्थिति थियो।