सिम्रौनगढ सुरक्षाकर्मीहरूको मिलेमतोमा ‘लाइन’ पाए तस्कर स्थानीयहरुको गुनासो

१६ मंसिर : ईलाका प्रहरी कार्यालय सिम्रौनगढ अन्तर्गतका झरओखर, सतुवाई, अम्मरपट्टी, कवलपुर र पथलवाघाट नाकाबाट लामो समयदेखि तस्करी व्यापक रूपमा सञ्चालन हुँदै आएको स्थानीयवासी र स्रोतहरूको दाबी छ ।

उनीहरूको अनुसार सुरक्षाकर्मीहरूको मिलेमतो र ‘लाइन’ पाएका केही तस्करहरूको सक्रियताले सीमा क्षेत्रमा तस्करी अझै नियन्त्रणबाहिर गएको छ । स्रोतका अनुसार भोला नामका व्यक्ति सिम्रौनगढ-गोलागंज-पथलवाघाट-कवलपुर क्षेत्रका चर्चित कपडा तस्कर हुन् । स्थानीयहरूले उनलाई राजश्व छलेर ठूलो मात्रामा कपडा तस्करी गर्ने कारोवारीका रूपमा चिन्ने गरेको बताउँछन् । साडी, कुर्ता-सलवार, सटिङ-सुटिङदेखि विभिन्न रेडिमेट कपडासम्म उनले भारतबाट भिर्त्याई निजगढ र कोल्वीसम्म पुऱ्याउने गरेको दाबी गरिएको छ।

उनले कहिले कवलपुर झरओखर त कहिले पथलवाघाट र अम्मरपट्टीमार्ग हुँदै दैनिक लाखौँ मूल्य बराबरको कपडा तस्करी गर्ने स्थानीय स्रोतको भनाइ छ । स्रोतहरूका अनुसार उनको तस्करी धन्दामा इलाका प्रहरी सिम्रौनगढका केही घुमुवा र सशस्त्र प्रहरी बल गोलागंज तथा पिपरपाती क्यापका केही सुरक्षाकर्मीको सहयोग रहेको आशंका गरिएको छ ।

भोला माथि केही समयअघि नेपाल प्रहरीले गरेको एक अपरेशन पछि उनी लामो समय फरार रहेको बताइन्छ । सो क्रममा प्रहरीले उनको सामग्री मात्र होइन, प्रयोग गरेको मोबाइलसमेत नियन्त्रणमा लिएर छानबिन गरेको थियो।

तर पछि, राजनीतिक पहुँचका कारण उनी कारबाहीबाट जोगिएको स्थानीयहरूको आरोप छ । यसैबीच, बैरियाका भारतीय नागरिक अरविन्दलाई पनि तस्करीको ‘लाइन’ दिइएको स्थानीय स्रोतले जनाएको छ । अरविन्दले भारतीय नाका अगर्वाबाट कहिले बैरिया त कहिले पथलवाघाट हुँदै ठूलो मात्रामा सामान तस्करी गर्ने गरेको बताइएको छ । उनले भारतवाट नेपाल तर्फ कपडा र किराना सामग्री, नेपालबाट भारत तर्फ कस्मेटिकका सामग्री ठूलो परिमाणमा ओसारपसार गर्दै आएको स्रोतको दाबी छ ।

उनले सिम्रौनगढमै कपडाको पसल सञ्चालन गर्दै आएका छन्, र यही पसलको आडमा वर्षोंदेखि तस्करी चलाउँदै आएको स्थानीयहरूको आरोप छ । केही महिना अघि राजश्वले उनलाई तस्करी गरेको सामानसँगै पक्राउ गरेको थियो, तर पछि ‘मिलेमतो’मा सामान छुटेको दाबी गरिएको छ।

स्थानीय बासिन्दाहरूको भनाइमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको संलग्नता र सहयोग नभए यस्तो ठूलो तस्करी सम्भव नै हुँदैन । सिम्रौनगढ क्षेत्रका नाकाहरुबाट भइरहने तस्करीले राजश्व छली, सुरक्षाका संरचनामा अविश्वास, र सीमा क्षेत्रमा अपराधी गतिविधि बढ्ने जोखिम बढेको स्थानीयवासीहरूको चेतावनी छ ।