बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय, बकुलियामा अध्ययनरत विद्यार्थीहरूका लागि पोशाक वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

आइतबार सम्पन्न कार्यक्रममा प्राथमिक तहकी शिक्षिका रिता चौधरीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ५ का वडाध्यक्ष दिपेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा कक्षा बालबालिकादेखि कक्षा ५ सम्म अध्ययनरत ५०६ जना विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको हो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष दिपेन्द्र चौधरीले विद्यार्थीहरूलाई समयमै पोशाक उपलब्ध गराउनु सकारात्मक पहल भएको उल्लेख गर्दै भने,
शिक्षामा गरिने लगानी नै उज्यालो भविष्यको आधार हो। विद्यार्थीलाई आवश्यक आधारभूत सुविधा उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व हो। विद्यालय र अभिभावक मिलेर गुणस्तरीय शिक्षा दिन सक्यौं भने समाज परिवर्तन निश्चित छ।
विद्यालयका प्रधानाध्यापक धनञ्जय गौतमका अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाबाट उपलब्ध गराइएको पोशाकका अतिरिक्त विद्यालयले आफ्नै स्रोतबाट टाइ र बेल्ट समेत ५०६ जना विद्यार्थीलाई वितरण गरेको हो। उपमहानगरपालिकाबाट प्राप्त पोशाक अपुग भएमा बाँकी विद्यार्थीहरूलाई पनि विद्यालयकै निजी स्रोतबाट पोशाक उपलब्ध गराइने प्रधानाध्यापक गौतमले जानकारी दिए।
कार्यक्रममा इन्दल पासवान, बिमला देवी पासवान, ईश्वर चौधरी लगायत शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।
विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास बढ्नुका साथै विद्यालयप्रतिको आकर्षण पनि बढ्ने विश्वास व्यक्त गरेको छ।



