बीरगञ्ज भन्सार कार्यालय वरपर सशस्त्र प्रहरीले अधिकारको दायरा नाघेर वैध व्यवसायमा हस्तक्षेप गरेको आरोप सार्वजनिक भएको छ। विल–विजक र भन्सार महसुल सबै तिरेर आयात गरिएका कपडाहरूलाई जबर्जस्ती नियन्त्रणमा लिइएको भन्दै स्थानीय व्यवसायीहरू आक्रोशित बनेका छन्।
प्राप्त विवरणअनुसार बीरगञ्जको रेलवे रोड क्षेत्रमा रहेका एक ट्रान्सपोर्ट र एक व्यापारिक पसलमा छापा मारेर सशस्त्र प्रहरीको टोलीले कपडा नियन्त्रणमा लिएको हो। व्यवसायीहरूको दाबी छ—सबै कानुनी प्रक्रिया पूरा गरी भन्सार जाँच पास भइसकेका कपडामा वैध कागजात हुँदाहुँदै पनि तस्करीको शंका देखाउँदै सामान उठाइयो, जुन कानुन कार्यान्वयनभन्दा अधिकारको दुरुपयोग हो।
व्यवसायीहरूले केही अवैध कारोबारीसँग मिलेमतो गरेर वैध व्यवसायीलाई दुःख दिने प्रवृत्ति बढ्दै गएको आरोपसमेत लगाएका छन्। “कानुन मानेर व्यापार गर्नेहरूलाई लक्षित गरिन्छ, तर सेटिङमा चल्नेहरू जोगिन्छन्,” एक व्यवसायीले गुनासो गरे।
घटनापछि व्यवसायीहरूले निष्पक्ष छानबिन, नियन्त्रणमा लिइएको कपडाको तत्काल फिर्ता, र यस्ता हस्तक्षेपको अन्त्य गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। यस विषयमा सशस्त्र प्रहरी प्रशासनको औपचारिक प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन।


