बाराका सिडिओ मिश्र र जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईसहित ८ सिडिओ र १३ सहसचिव गृह मन्त्रालयमा सरुवा

बारा जितपुर ४ पौष: गृह मन्त्रालयले प्रशासनिक संरचनामा व्यापक हेरफेर गर्दै देशका विभिन्न जिल्लामा कार्यरत आठ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा १३ जना सहसचिवलाई सरुवा गरेको छ। सरुवा सूचीअनुसार बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंलाई गृह मन्त्रालयले तनेको छ।


गृह मन्त्रालयले सार्वजनिक गरेको निर्णयअनुसार प्रशासनिक अनुभव र कार्यक्षमताका आधारमा यी सरुवाहरू गरिएको जनाएको छ। मन्त्रालय स्रोतका अनुसार संघीय प्रशासनिक संयन्त्रलाई थप प्रभावकारी बनाउने उद्देश्यले सिडिओ तथा सहसचिव तहका अधिकारीहरूलाई मन्त्रालयअन्तर्गत विभिन्न जिम्मेवारीमा खटाइएको हो।
बारामा शान्ति–सुरक्षा, प्रशासनिक समन्वय तथा सेवा प्रवाहका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका सिडिओ मिश्रको सरुवालाई प्रशासनिक वृत्तमा महत्त्वपूर्ण रूपमा हेरिएको छ। त्यस्तै, जितपुरसिमरा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत शान्तिराज प्रसाईंले स्थानीय तहको प्रशासनिक सुधार, सेवा प्रवाह र विकास योजनाको कार्यान्वयनमा योगदान पुर्‍याएका थिए।
सरुवासँगै खाली भएका पदहरूमा छिट्टै नयाँ जिम्मेवारी तोकिने गृह मन्त्रालयले जनाएको छ। प्रशासनिक सरुवाले स्थानीय तहदेखि संघीय मन्त्रालयसम्मको कामकाज थप चुस्त, पारदर्शी र उत्तरदायी हुने अपेक्षा गरिएको छ।
गृह मन्त्रालयले आगामी दिनमा पनि आवश्यकता र कार्यसम्पादन मूल्यांकनका आधारमा यस्ता प्रशासनिक सरुवा निरन्तर गरिने संकेत दिएको छ।