सशस्त्र प्रहरीद्वारा बेलवाबाट अवैध काठ बरामद

पर्सा । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बेलवाले अवैध रूपमा कटान गरिएको काठ बरामद गरेको छ।
मिति २०८२ साल ०९ महिनाको २१ गते राति करिब ९:०० बजे पर्सा जिल्लाको पर्सागढी नगरपालिका–४, झावराहस्थित सुरक्षा बेस बेलवाबाट सशस्त्र प्रहरी निरीक्षक लोकबहादुर कार्कीको कमाण्डमा खटिएको ५ जनाको टोली र सब–डिभिजन वन कार्यालय सबैयाबाट रेन्जर भूपाल रोकायको नेतृत्वमा खटिएको ७ जनाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा उक्त काठ बरामद गरेको हो।
गस्तीका क्रममा जंगलबाट अवैध रूपमा कटान गरी जंगलको छेउमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको ५२ क्युबिक फिट परिमाण बराबरको ६ थान साल जातको गोलिया काठ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद काठको अनुमानित मूल्य १ लाख ५६ हजार रुपैयाँ रहेको छ।
बरामद गरिएको काठ आवश्यक कानुनी कारबाहीका लागि सब–डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ।