रौतहट । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा नाकामा कडाइ गरिने भएको छ। निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै सीमा क्षेत्र ७२ घण्टासम्म बन्द गर्ने निर्णय गरिएको हो।
सोमबार साँझ रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न नेपाल–भारत सीमा समन्वय समितिको बैठकले यो निर्णय लिएको हो। बैठकमा जनकपुरधाम क्षेत्र अन्तर्गतका महोत्तरी, सर्लाही र रौतहटका सुरक्षा अधिकारी तथा भारतको सीतामढी जिल्लाका सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा निर्वाचनलाई निष्पक्ष, शान्त र डररहित वातावरणमा सम्पन्न गर्ने विषयमा विस्तृत छलफल भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए। उनले दुवै देशमा निर्वाचनका बेला सीमा बन्द गर्ने प्रचलन रहेको उल्लेख गर्दै नेपालमा हुन लागेको निर्वाचनलाई लक्षित गरी सीमा ७२ घण्टासम्म बन्द गरिने स्पष्ट पारे।
सशस्त्र प्रहरी सर्लाहीका उपरीक्षक देवबहादुर चन्दका अनुसार सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, लागूऔषध कारोबार रोकथाम, भन्सार छलि नियन्त्रण तथा दुवै देशबीच सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने विषयमा समेत सहमति भएको छ।
बैठकमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको सहभागिता थियो भने भारततर्फबाट सीतामढी जिल्लाका उच्च सुरक्षा अधिकारीहरू उपस्थित थिए।
दुवै देशका सुरक्षा निकायले निर्वाचन अवधिभर सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने र अत्यावश्यक बाहेकका सबै आवागमन ७२ घण्टासम्म पूर्ण रूपमा रोक्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल–भारत सीमा क्षेत्रमा यस्ता संयुक्त समन्वय बैठक नियमित रूपमा हुँदै आएका छन्, जसले दुवै देशबीच सुरक्षा सहकार्य र विश्वासलाई थप मजबुत बनाउँदै आएको छ।


