कानुन व्यवसायी एकरामुल हकमाथि गम्भीर आरोप, जबरजस्ती करणी मुद्दा दर्ता

बारा जिल्लाका एक कानुन व्यवसायीविरुद्ध जबरजस्ती करणीको गम्भीर आरोपमा मुद्दा दर्ता गरिएको छ। ईलाका प्रहरी कार्यालय सिमरामा माघ ८ गते दर्ता भएको उक्त मुद्दाले जिल्लामा व्यापक चासो र चर्चा पैदा गरेको छ।

प्रहरीका अनुसार पीडित महिलालाई जिल्ला अदालतमा विचाराधीन एक मुद्दामा कानुनी सहयोग गरिदिने आश्वासन दिँदै सिमरास्थित एक होटलमा बोलाइएको थियो। सोही क्रममा महिलामाथि जबरजस्ती करणी भएको भन्दै उजुरी परेको हो।

उजुरी परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउँदै माघ ५ गते अभियुक्त वकिल एकरामुल्लाह हकलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोसीले जानकारी दिनुभयो। पक्राउपछि जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी कानुनी प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक जोसीका अनुसार जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर घटनासम्बन्धी विस्तृत अनुसन्धान भइरहेको छ। पीडितको बयान, घटनासँग सम्बन्धित प्रमाण संकलन तथा अन्य आवश्यक प्रक्रिया कानुनअनुसार अगाडि बढाइएको छ।

कानुन र न्यायको संरक्षण गर्ने जिम्मेवारीमा रहेको व्यक्तिमाथि यस्तो गम्भीर आरोप लाग्नु दुखद र निन्दनीय भएको स्थानीयवासी तथा सरोकारवालाहरूले प्रतिक्रिया दिएका छन्। घटनाले न्याय प्रणालीप्रतिको जनविश्वासमा समेत असर पार्ने उनीहरूको भनाइ छ।

प्रहरीले अनुसन्धान निष्पक्ष, पारदर्शी र कानुनी मापदण्डअनुसार गरिने स्पष्ट पारेको छ। दोषी प्रमाणित भए कानुनबमोजिम कडा कारबाही गरिने प्रहरीको भनाइ छ।