बारा निर्वाचन क्षेत्र–१ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार संतोष दंगालले आफ्नो चुनाव चिन्ह तारा छापमा मतदान गर्न अपिल गर्दै निजगढ नगरको राजनीतिक वातावरणलाई थप सक्रिय बनाएका छन्।
निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित नगरस्तरीय अगुवा भेलालाई सम्बोधन गर्दै दंगालले नगरका शिक्षक, बौद्धिक वर्ग, कृषक तथा श्रमिक समुदायले लामो समयदेखि भोग्दै आएका समस्याको स्थायी समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए।
उनले शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि, कृषिमा आधुनिक प्रविधिको प्रयोग र बजारसम्म सहज पहुँच, रोजगारीका अवसर विस्तार तथा स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने विषयलाई आफ्नो प्रमुख चुनावी एजेन्डा भएको स्पष्ट पारे। “राजनीति केवल नारामा सीमित हुनु हुँदैन, यसले जनताको जीवनमा देखिने परिवर्तन ल्याउनुपर्छ,” भन्दै दंगालले तारा छाप नै जनविश्वासको प्रतीक भएको दाबी गरे।
भेलामा सहभागी स्थानीय बुद्धिजीवी तथा सामाजिक अगुवाहरूले निजगढको समग्र विकासका लागि इमानदार, जनमुखी र स्पष्ट वैचारिक दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै दंगालको उम्मेदवारीलाई सकारात्मक रूपमा मूल्याङ्कन गरेका थिए।
अगुवा भेलापछि निजगढ नगरमा तारा छापको चर्चा तीव्र बन्दै गएको छ भने नेपाली कम्युनिस्ट पार्टीप्रति आम नागरिकको चासो र आकर्षण क्रमशः बढ्दै गएको देखिन्छ।


