सबैया साझेदारी वनको २२औँ साधारणसभा, स्वदेशी काठ प्रयोग बढाउने सरकारको लक्ष्य

पर्साको पहिचानका रूपमा परिचित सबैया साझेदारी वन उपभोक्ता समूहको २२औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। साधारणसभामा प्रमुख अतिथिका रूपमा मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शङ्कर चौधरी सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले वन संरक्षणलाई केवल वातावरणीय जिम्मेवारीका रूपमा नभई स्थानीय समृद्धिको आधारका रूपमा लिनुपर्नेमा जोड दिए। उनले वन व्यवस्थापन वैज्ञानिक ढंगले गर्दै त्यसलाई रोजगारी र आयआर्जनसँग जोड्नुपर्ने आवश्यकता औंल्याए। “अब वन जोगाउने चरण मात्र होइन, वनबाटै आर्थिक अवसर सिर्जना गर्ने समय आएको छ,” उनले भने।
सरकारले काठ आयात घटाउँदै स्वदेशमै उत्पादन भएको काठको प्रयोग बढाउने लक्ष्य लिएको जानकारी दिँदै मन्त्री चौधरीले वन संरक्षणमा प्रत्यक्ष संलग्न उपभोक्ताहरूले वन पैदावारमा प्राथमिकता पाउनुपर्ने बताए। साझेदारी वनले सरकार र समुदायबीचको सम्बन्धलाई मजबुत बनाएको उल्लेख गर्दै उनले यसको सञ्चालन अझ पारदर्शी र उत्तरदायी बनाउनुपर्ने धारणा राखे। जलवायु परिवर्तनका चुनौती सामना गर्न सामुदायिक तथा साझेदारी वनहरूको भूमिका निर्णायक हुने उनको भनाइ थियो।
साधारणसभाका अवसरमा वन संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याएका संरक्षणकर्मी तथा उपभोक्ताहरूलाई सम्मानसमेत गरिएको थियो।

कार्यक्रम जिउस, पर्साका सभापति निरञ्जन सोनारको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य डिभिजन वन कार्यालय, पर्साका प्रमुख मन्जुर अहमदले व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण जवाहरलालप्रसाद कुर्मीले गरेका थिए।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मत रूपमा पारित गर्नुका साथै आगामी वर्षका लागि वन डढेलो नियन्त्रण, वृक्षारोपण तथा सामाजिक विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ।
यसैबीच, सबैया साझेदारी वनको अध्यक्ष पदमा लखनलाल साह कानू निर्विरोध चयन भएका छन्। अध्यक्षका लागि चार जनाको नाम प्रस्तावित भए पनि सहमतिमार्फत कानूलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरिएको हो।