सिमरा, माघ १९
बारा निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा उपनिर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। प्रमुख राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएपछि मतदाताको चासो उल्लेख्य रूपमा बढेको छ। स्थानीय तहमा गरिएको अनौपचारिक जनमत मूल्याङ्कन र मतदाताको अभिमतअनुसार नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका युवा नेता श्यामबाबु गुप्ता पछिल्लो समय बलियो स्थितिमा देखिएका छन्।

बारा–४ का स्थायी बासिन्दा रहेका गुप्ता लामो समयदेखि सामाजिक तथा मानवीय गतिविधिमा सक्रिय रहँदै आएको भन्दै स्थानीयले उनीप्रति भरोसा व्यक्त गर्न थालेका छन्। जनताको समस्या नजिकबाट बुझ्ने र दुःख–सुखमा साथ दिने स्वभावका कारण उनीप्रति आकर्षण बढ्दै गएको स्थानीयको भनाइ छ।

बारा–४ अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका, प्रसौनी, परवानीपुर, फेटा, विश्रामपुर गाउँपालिका तथा कलैया उपमहानगरपालिकाको वडा नं. १७ पर्दछन्। सिमरा क्षेत्रमै हुर्किएका गुप्तालाई स्थानीय आवश्यकता, चुनौती र सम्भावनाबारे राम्रो जानकारी रहेको मतदाताहरू बताउँछन्। यसपटक नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जिल्लाबाहिरका भएकाले स्थानीय उम्मेदवारलाई नै प्राथमिकता दिनुपर्ने मत जनस्तरमा बलियो बन्दै गएको देखिन्छ। “आफ्नो ठाउँको प्रतिनिधिले मात्र यहाँको वास्तविक समस्या बुझ्छ,” भन्ने धारणा घरदैलो अभियानमा खुला रूपमा व्यक्त हुन थालेको छ।

फागुन २१ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै सबै उम्मेदवार यतिबेला घरदैलो अभियानमा व्यस्त छन्। कांग्रेस उम्मेदवार गुप्ता बिहानदेखि साँझसम्म मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गरिरहेका छन्। अघिल्लो निर्वाचनमा १० हजारभन्दा बढी मतान्तरले विजयी भएका पूर्वमन्त्री किसान श्रेष्ठका लागि यसपटकको चुनाव सजिलो नहुने संकेत देखिएको छ। २०७९ सालमा गठबन्धनको समर्थनमा निर्वाचित भएका श्रेष्ठ यसपटक भने एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

लामो समयपछि कांग्रेस कार्यकर्ताले आफ्नै उम्मेदवारलाई रूख चिन्हमा मतदान गर्न पाउने अवसर पाउँदा पार्टीभित्र उत्साह र सक्रियता बढेको देखिन्छ।

यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका श्यामबाबु गुप्ता, नेकपा एमालेका किसान श्रेष्ठ, नेकपाका अजय कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अन्सारी तथा लोसपा–जसपा गठबन्धनका तर्फबाट सञ्जु साह चुनावी मैदानमा छन्।
कांग्रेस उम्मेदवार गुप्ता यस क्षेत्रका लागि नयाँ उम्मेदवार भए पनि स्पष्ट विकास एजेन्डा र स्थानीय जनसमर्थनका कारण बलिया प्रतिस्पर्धीका रूपमा उभिएका छन्। युवालाई रोजगारी सिर्जना, साना तथा मझौला उद्योगको प्रवर्द्धन, कृषि उत्पादनको बजारीकरण, सिमरा–जीतपुरसिमरा औद्योगिक क्षेत्रको विस्तार, शिक्षा र स्वास्थ्य सेवामा सुधार तथा भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने विषयलाई उनले प्रमुख प्राथमिकतामा राखेका छन्।
घरदैलोका क्रममा गुप्ताले “राजनीति पदका लागि होइन, जिम्मेवारीका लागि हो। बारा–४ लाई विकास र रोजगारीको केन्द्र बनाउने मेरो दृढ संकल्प छ,” भन्दै मतदातासँग आफ्नो प्रतिबद्धता दोहोर्याइरहेका छन्।
स्थानीय उम्मेदवार, युवा नेतृत्व र विकासका मुद्दा प्रभावशाली बन्दै जाँदा बारा–४ मा श्यामबाबु गुप्ता, किसान श्रेष्ठ र रहबर अन्सारीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने संकेत देखिएको छ


