वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को ‘ग्रीन च्यानल’ मार्फत तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ। प्रतिनिधि सभाको अर्थ समितिले भन्सार विधेयक संशोधनसम्बन्धी आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवालाहरूले वीरगञ्ज भन्सार कार्यालयकै कर्मचारीहरूको मिलेमतोमा तस्करी भइरहेको दाबी गरेका हुन्।
उनीहरूका अनुसार तेस्रो मुलुकबाट कम भन्सार महसुल लाग्ने सामानको आडमा महँगा वस्तुहरू भित्र्याउने कार्य भइरहेको छ। यस्तो कार्य रोक्न कानून संशोधन आवश्यक रहेको सरोकारवालाहरूको सुझाव छ। साथै, ‘ग्रीन च्यानल’ बाट आउने सामानहरूलाई सुरक्षा निकायले चेकजाँच गर्न पाउने व्यवस्था लागू गर्नुपर्नेमा पनि जोड दिइएको छ।
राजस्व चुहावट रोक्न कानुनी सुधारको माग
वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले राज्यको नीतिका कारण तस्करी मौलाउँदै गएको आरोप लगाए। उनले उपभोग्य वस्तुमा बढी भन्सार लगाउँदा ती वस्तुहरू गलत बाटोबाट भित्रिने गरेको बताए। यसलाई रोक्न कम्तीमा एक सय वस्तुमा कर घटाउनु आवश्यक रहेको उनको सुझाव छ।
अर्थ समितिको टोलीले वीरगञ्ज भन्सार कार्यालय, आईसीपी लगायतका स्थानहरूको स्थलगत निरीक्षण गर्दा एक्सरे मेसिन, ल्याबजस्ता महत्वपूर्ण उपकरणहरूको अभाव रहेको पाइएको छ। उपकरण अभावकै कारण राजस्व चुहावट रोक्न कठिन भइरहेको निष्कर्ष टोलीले निकालेको छ।
भन्सार प्रक्रियामा पारदर्शिता आवश्यक
भन्सार विधेयक संशोधन र एकीकरणका लागि तयार गरिएको विधेयकमाथि छलफल गर्दै सरोकारवालाहरूले भन्सार प्रक्रियामा पारदर्शिता ल्याउनु जरुरी रहेको औंल्याएका छन्। तस्करी नियन्त्रणका लागि कानुनी सुधारको खाँचो रहेको उनीहरूको धारणा छ।
छलफल कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरू नारायणी शर्मा, जुली महतो, अन्जनी श्रेष्ठ, छिरिङ डिम्डुल लामा, मुक्ता यादव, नारायणप्रसाद आचार्य लगायतको उपस्थिति थियो।
तर, पर्सा जिल्लामा सक्रिय राजनीतिक दलका प्रतिनिधिहरू र प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई छलफल कार्यक्रममा निम्त्याइएको थिएन। प्रमुख जिल्ला अधिकारी अर्यालले आफू जिल्लाको राजस्व चुहावट नियन्त्रण समितिको अध्यक्ष भए पनि कार्यक्रमबाहिर राखिएकोमा प्रश्न उठाएका छन्। उनले यस विषयमा सोधखोज गरिने बताए।
यसअघि पनि वीरगञ्ज भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकको नेतृत्वमा व्यक्तिगत दोहन भइरहेको भन्दै समाचार प्रकाशित भइसकेको छ। भन्सार प्रक्रियामा सुधार नभए तस्करीको जोखिम झन् बढ्ने भन्दै सरोकारवालाहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्।
यात्रा