नापी कार्यालय पर्सामा घुस खोरीको जालो सक्रिय रहेको खुलासा भएको छ । सेवाग्राहीहरूले नापी कार्यालयका कर्मचारी तथा बिचौलियाहरू मिलेर हालसाबिक, कित्ताकाटलगायतका काममा खुलेआम घुस लिने गरेको गुनासो गरेका छन् ।

एक सेवाग्राहीका अनुसार अमिन तथा सर्वेक्षकहरूले हालसाबिक गर्न फिल्डमा जानकै लागि प्रति फाइल ३ हजारदेखि ५ हजार रुपैयाँसम्म माग्ने गरेका छन् । त्यस्तै, सामान्य कित्ताकाट प्रक्रियामा पाँच सयदेखि एक हजार रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ ।

नियम विपरीत कित्ताकाट गर्नुपर्ने भए ५० हजार रुपैयाँदेखि एक लाखौँ रुपैयाँसम्मको बार्गेनिङ गरेर मात्र प्रक्रिया अघि बढाइने सेवाग्राहीहरूको आरोप छ ।

सेवाग्राहीहरूका अनुसार नापी कार्यालयका कर्मचारीहरू तथा लेखापढी व्यवसायीहरूबिच सेटिङ कायम गरेर मात्र कागजी प्रक्रिया अघि बढाउने गरिएको छ । नाम नलेख्ने सर्तमा नापी कार्यालयकै एक कर्मचारीले भने, “नियम सङ्गत प्रक्रिया भए पनि सेटिङ नमिले कागज पास हुँदैन । उल्टै आलटाल गरिन्छ र सेवाग्राहीहरूलाई अनावश्यक दुःख दिइन्छ ।”

रामगढवा फाँटमा कार्यरत अमिन कमल नायकमाथि सेवाग्राहीहरूले गम्भीर आरोप लगाएका छन् । एक सेवाग्राहीका अनुसार नायकले पैसा नपाएको कारण एक महिनादेखि काम रोकेर राखेका छन् । भने, “मैले हालसाबिकका लागि महिनौँअघि निवेदन दिएको हुँ । तर, अहिलेसम्म काम भएको छैन । मभन्दा पछाडि निवेदन दिएका व्यक्तिहरूले सेटिङ मिलाएर काम गराइसके ।”

सूत्रका अनुसार नापी कार्यालयका प्रमुख अधिकृत दीपक सिंह, नापी अधिकृत राजकुमार विश्वकर्मा तथा विभिन्न फाँटका अमिन-सर्वेक्षकहरूले मिलेर घुस लिने गरेका छन् ।

प्रत्येक दिन कुन फाँटमा कति कित्ताकाट र हालसाबिक भयो भन्ने विवरण अधिकृतहरूले सङ्कलन गर्छन् । कार्यालय समय सकिएपछि अधिकृतहरू आफैँ अमिन-सर्वेक्षकहरू कहाँ गएर रकम लिने वा उनीहरूले अधिकृतलाई बुझाउने गरेको स्रोतले बताएको छ ।

 

नापी कार्यालय, मालपोत कार्यालय, भूमिसुधार कार्यालयजस्ता सेवाग्राहीहरूको अत्यधिक भिडभाड हुने स्थानमा घुस खोरीले जरा गाडेको देखिन्छ । सेवा प्रवाह सहज हुनुपर्ने ठाउँमा सेवाग्राहीहरू ठगिनु दुःखद पक्ष हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा गम्भीर ध्यान दिई छानबिन गर्नु आवश्यक देखिन्छ ।

सेवाग्राहीहरूले सरकारसँग घुस खोरी नियन्त्रण गर्न विशेष अनुगमन तथा कारबाहीको माग गरेका छन् । नापी कार्यालय पर्सामा भइरहेको यो दुरुपयोग तत्काल रोकिनुपर्छ भन्ने जनगुनासो बढ्दै गएको छ ।

स्रोत यात्रा डेलि्