जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाको आधारमा लागूऔषध गाँजाको ओसारपसारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूबाट २५.९ किलोग्राम गाँजा बरामद गरिएको बारा प्रहरीले प्रहरीले जनाएको छ । दुई छुट्टाछुट्टै घटनामा पक्राउ परेका उनीहरूमाथि लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।
पहिलो घटनामा प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका – १ पथलैया चोकमा नारायणगढबाट वीरगञ्ज तर्फ आउँदै गरेको बा ४ ख ७५१७ नम्बरको यात्रुबाहक बस रोकेर चेकजाँच गर्ने क्रममा प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) निरीक्षक रोशन अधिकारीको कमान्डमा खटिएको टोलीले बसको सिटमुनि लुकाइएको अवस्थामा २१ किलो गाँजा फेला पारेको थियो ।
गाँजासहित तीन जनालाई नियन्त्रणमा लिइएको बारा प्रहरीले एक प्रेस नोट मार्फत जानकारी गराएको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका – १ निवासी ४० वर्षीय अर्जुन रूम्बा, सोही ठाउँका ३४ वर्षीय राजु लामा र ३१ वर्षीय प्रदीप मोक्तान रहेका छन् ।
अर्जुनसँग दुई पोका र अन्य दुई जनासँग एक-एक पोका गाँजा बरामद भएको बारा प्रहरीको प्रेस नोटमा उल्लेख गरिएको छ ।
दोस्रो घटनामा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) टेक बहादुर कार्कीको कमान्डमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका – २९ अमलेखगञ्ज चोकमा शङ्कास्पद पैदल यात्रीलाई रोकेर चेकजाँच गर्ने क्रममा पर्साको गञ्ज महानगरपालिका – १८ इनर्वा निवासी २१ वर्षीय राजकिशोर कुर्मीको झोलाबाट ४.९ किलो गाँजा बरामद गरेको छ ।
पक्राउ परेका चारै जनामाथि लागूऔषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट ७ दिनको म्याद थप गरिएको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।