१४ गते जेष्ठ :ट्राफिक नियम हाम्रो कर्तव्य, सुरक्षित सडक हाम्रो अभियान’ भन्ने मूल नारासहित मनाइएको ट्राफिक जनचेतना सप्ताह २०८२ को समापन कार्यक्रम परवानीपुर गाउँपालिका कार्यालयमा सम्पन्न भएको छ। सप्ताहको प्रारम्भ भने जेठ ७ गते जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयबाट भएको थियो। ट्राफिक सप्ताह जीतपुरसिमरा उपमहानगरपालिकाको पहलमा परवानीपुर गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको हो।
समापन कार्यक्रम परवानीपुर गाउँपालिका अध्यक्ष रामप्रसाद क्षत्री कुर्मीको अध्यक्षतामा तथा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
समापन कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य देवनारायण चौधरीले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनले मात्र सडक दुर्घटनालाई न्यूनिकरण गर्न सकिने बताए। यस्ता चेतनामूलक कार्यक्रमहरू विशेष गरी ग्रामीण क्षेत्रमा अझ प्रभावकारी हुने धारणा व्यक्त गर्दै उनले भविष्यमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।
अध्यक्ष रामप्रसाद क्षत्री कुर्मीले ट्राफिक सप्ताहले परवानीपुरवासीमा सडक सुरक्षाप्रतिको समझदारी अभिवृद्धि भएको बताए। उहाँले स्थानीय तह मात्र नभई सम्पूर्ण जिल्लावासीको समन्वयबाट यस्तो कार्यक्रम सफल भएकोमा सबैलाई धन्यवाद ज्ञापन गरे।
परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले यो कार्यक्रम गाउँपालिकाको एक्लो प्रयासबाट नभई जिल्लाका सम्पूर्ण सरोकारवाला निकायको सहकार्यबाट सफल भएको बताए। ट्राफिक सप्ताहले परवानीपुर क्षेत्रमा पनि दुर्घटना न्यूनीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
जीतपुरसिमरा उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरिले ट्राफिक सप्ताह उद्योगी तथा व्यापारीसँग सहकार्य गरेर सञ्चालन गर्दा व्यापारी समुदायका समस्या बुझ्न सहज भएको बताए। उनले बाराको मुख्य बजारमा सार्वजनिक शौचालयको अभावले व्यापारी तथा उपभोक्ता दुवैलाई समस्या हुँदै आएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
राजमार्ग ट्राफिक सुरक्षा व्यवस्था कार्यालय पथलैयाका प्रहरी उपरीक्षक राजकुमार शिलवालले नेपालमा ट्राफिक सप्ताहको सुरुवात वि.सं. २०२९ सालदेखि भएको जानकारी दिँदै, यसको उद्देश्य चालकदेखि पैदल यात्रुसम्म सबैमा ट्राफिकसम्बन्धी ज्ञान विस्तार गर्नु रहेको बताए। उनले ट्राफिक प्रहरीलाई नियम कार्यान्वयनका क्रममा कहिलेकाहीँ कठोर हुनुपर्ने बाध्यता हुने भन्दै त्यसलाई नागरिकले सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिए।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सडक सुरक्षा सरकारले गम्भीरतापूर्वक लिनुपर्ने विषय भएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमार्फत सडक सुरक्षामा छुट्टै विनियोजनको आवश्यकता औंल्याए। उनले यातायात व्यवस्थापनमा विकृति तथा अराजकता मौलाउँदै गएको बताउँदै, ट्राफिकसम्बन्धी चेतनामूलक कार्यक्रमहरुले मात्रै सुधार ल्याउन सक्ने विश्वास व्यक्त गरे। साथै, सडक अतिक्रमण गरी गरिने व्यापार–व्यवसायविरुद्ध कारबाही सुरु भइसकेको जानकारीसमेत गराए।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले ट्राफिक नियम उल्लंघन गर्नेलाई कडाइका साथ कारबाही गर्नुपर्ने धारणा राख्दै, धेरै जनप्रतिनिधिले भोट घट्ने डरले कानुनी कार्यान्वयन गर्न हिच्किचाउने प्रवृत्तिप्रति आपत्ति जनाए। उनले फूटपाथ र सर्भिस लेन पैदल यात्रुको आवागमनका लागि भएकोले त्यहाँ व्यापार तथा पार्किङ नगर्न आग्रह गरे। साथसाथै, जीतपुरसिमरा क्षेत्रका सडक अवरोध हटाउन उपमहानगरपालिका तयार रहेको पनि उल्लेख गरे।
कार्यक्रमको अन्त्यमा ट्राफिक सप्ताह सफल बनाउन विशेष योगदान पु¥याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो।


