जनसूचना न्यूजका सम्पादक आलम कदर-पत्रबाट सम्मानित

वीरगञ्ज, ५ साउन :जनसूचना मिडिया प्रा. लि. पर्साद्वारा सञ्चालित जनसूचना न्यूज डटकमका सम्पादक तथा नेपाल मुस्लिम पत्रकार संघ, पर्साका सह-सचिव रसीद आलमलाई सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा., पर्साले कदर-पत्रबाट सम्मानित गरेको छ।

सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले आलमलाई कदर-पत्र प्रदान गर्दै सम्मान गरेका हुन्। उक्त कदर-पत्रमा जिल्ला भित्र सशस्त्र प्रहरीले सञ्चालन गरेका विविध गतिविधिहरू र उपलब्धिहरूलाई आम पाठकसमक्ष प्रभावकारी रूपमा सम्प्रेषण गर्न आलमले पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गरिएको उल्लेख छ।

एसपी धिमालद्वारा हस्ताक्षरित कदर-पत्रमा भनिएको छ—
“सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले कानून प्रदत्त कार्यदिशा अनुसार जिल्लामा सञ्चालन गरेका विभिन्न क्रियाकलाप र हाँसिल गरेका उपलब्धिहरूलाई आम पाठकसमक्ष सम्प्रेषण गर्न यहाँले पुर्‍याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै स-धन्यवाद यो कदर-पत्र प्रदान गरिएको हो। आगामी दिनहरूमा समेत यसैगरी निरन्तर सहयोग प्राप्त हुने अपेक्षा गर्दै यहाँको उत्तरोत्तर प्रगति एवं उज्वल भविष्यको कामना गर्दछु।”

एसपी धिमालको सरुवा भई सशस्त्र प्रहरी प्रधान कार्यालय, काठमाडौं जान लागिएको छ भने उनका स्थानमा एसपी पुरन चन्द भट्ट पर्सामा आएका छन्।