जितपुर।सिमरा भेट्रान क्लबको आयोजनामा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। सोमबार सिमरामा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको औपचारिक घोषणा गरिएको हो।
‘जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता–२०८२’ नाम दिइएको उक्त प्रतियोगिता आगामी भदौ २१ गतेदेखि २८ गतेसम्म सिमरा रंगशालामा सन्ध्या ६ बजेपछि सञ्चालन हुनेछ।
क्लबका प्रतिनिधिहरूका अनुसार सिमरा भेट्रान क्लब विगतदेखि नै अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। खेलकुदका साथै सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएको क्लबले यसपटक महिला फुटबललाई प्राथमिकतामा राख्दै ऐतिहासिक प्रतियोगिता गर्न लागेको हो।
प्रतियोगितामा आठ टिमहरूको सहभागिता रहनेछ। सहभागी टिमहरूमा आयोजक सिमरा भेट्रान क्लब सिमरा, मोरङ जिल्ला फुटबल संघ, नेपाल एपिएफ क्लब हलचोक काठमाडौं, त्रिभुवन आर्मी क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, कुरुसङ गल्स फुटबल एकेडेमी दार्जिलिङ (भारत), रौतहट जिल्ला फुटबल संघ र धरान सिटी फुटबल क्लब सुनसरी रहेका छन्।
प्रतियोगितामा प्रथम पुरस्कार राशी ५ लाख रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ।


