जितपुर बारा । मधेस प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवाल आर्थिक अनियमिततामा मुछिएका छन् ।ज
उनको कार्यशैलीमाथि गुनासो र दर्जनौँ लिखित उजुरी परेपछि मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन अघि बढाएको हो । प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमा चतुर्वेदीले सिलवालमाथि छानबिनका लागि समिति गठन गरिएको पुष्टि गरे । ‘छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाएका छौँ,’ डिआइजी चतुर्वेदीले भने, ‘अहिले छानबिनकै क्रममा रहेकाले थप भन्न सकिँदैन ।’
स्रोतका अनुसार एसपी सिलवालविरुद्ध ३५ वटा लिखित उजुरी परेको छ । उजुरी पाँच किसिमका भएकाले छुट्टाछुट्टै अनुसन्धान गर्न पाँच वटा समिति बनाइएको छ । छानबिन समितिको नेतृत्व एसएसपी कमल थापा, एसएसपी भीम दाहाललगायत पाँच जनाले गरेका छन् ।
सिलवालमाथि मापसे (मादक पदार्थ सेवन) गरेको आरोपमा चालकलाई रातभर नियन्त्रणमा राख्ने, जरिवाना असुलीमा अनियमितता गर्ने, मापसे नगरेको चालकलाई समेत जरिवाना चिट काटी नियन्त्रणमा राख्ने, चोरीका गाडी नियन्त्रणमा लिएर भन्सारमा नबुझाई आफैँ प्रयोग गर्ने लगायतका आरोप छन् ।
त्यसै गरी गत ११ साउनमा सुनौलो बिहानी ट्रान्सपोर्टका दुई ट्रकलाई पथलैया चेकपोस्टबाट नियन्त्रणमा लिएर ८ लाख रुपैयाँ असुलेर छाडेको आरोपसमेत उजुरीमा उल्लेख गरिएको छ । यसै आधारमा मधेस प्रदेश प्रहरी कार्यालयले सिलवालसँग लिखित जवाफ मागेको र छानबिन अघि बढाएको बताइएको छ ।


