भारत मोतिहारीका प्रहरी अधीक्षक (एसपी) स्वर्ण प्रभातको निर्देशनमा उपप्रहरी अधीक्षक (एसडीपीओ) धीरेन्द्र कुमारको नेतृत्वमा खटिएको प्रहरी टोलीले शुक्रवार बिहान रक्सौल र रामगढवाको बिचमा पर्ने पलनवा थाना अन्तर्गतको सिरिसिया गाउँमा रहेको पोल्ट्री फार्ममा छापा मारेको थियो ।
गोप्य सूचनाका आधारमा गरिएको छापामारी लगभग १२ घण्टासम्म चलेको भारतीय सञ्चार संस्थाहरूले दाबी गरेका छन् । छापामारीका क्रममा पोल्ट्री फार्मभित्र लुकाइएको अवैध हतियार कारखाना फेला परेको हो ।
बरामद गरिएका सामग्रीहरूमा १ थान कन्ट्री मेड कार्बाइन, ३ थान देसी पेस्तोल, १ थान देसी सिक्सर पेस्तोल, ४३ राउन्ड ९ एमएम गोली, ३१ राउन्ड ३.१५ बोर गोली, ९ राउन्ड ७.६२ बोर गोली, २ थान खोका, ६ थान अर्धनिर्मित पेस्तोल बडी, १९ थान स्लाइडर, २० थान म्यागजिन, ६ थान स्प्रिङ, १०५ थान नेम पन्चर, ३ थान ड्रिल मेसिन, १ थान वेल्डिङ मेसिन र १ थान तरबार रहेका छन् । सामग्रीहरूले कारखानाको ठूलो परिमाणमा हतियार उत्पादन र वितरणको सम्भावनालाई सङ्केत गरेको छ ।
प्रहरीले सुरुमा कारखानाका मुख्य सञ्चालक पङ्कज सिंह र उनका पिता राजेश्वर सिंहलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको बयानका आधारमा प्रहरीको विशेष टोलीले छपराबाट अभिताभ शर्मा र मुंगेरबाट नौयर आलमलाई पनि पक्राउ गरेको छ ।
एसपी स्वर्ण प्रभातका अनुसार कारखाना लामो समयदेखि सञ्चालनमा रहेको र यसले बिहारका विभिन्न क्षेत्रमा अवैध हतियार आपूर्ति गरिरहेको हुन सक्ने अनुमान गरिएको छ । पक्राउ परेका व्यक्तिहरूबाट थप जानकारी लिन अनुसन्धान जारी रहेको छ ।
छापामारीमा पलनवा थानाध्यक्ष सीता केवट, भेलाही थानाध्यक्ष शाहरुख, रामगढवा थानाध्यक्ष अमरजीत कुमार र छपराको परसवा थानाध्यक्ष सुनील कुमारसहितको टोली संलग्न थियो । प्रहरीको संयुक्त कारबाहीले अवैध हतियार कारोबारविरुद्ध कडा कदम चालिएको सन्देश दिएको छ ।
नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध हतियारको तस्करी र उत्पादन सीमावर्ती क्षेत्रमा लामो समयदेखिको समस्या हो । रक्सौल, वीरगञ्जसँग जोडिएको प्रमुख व्यापारिक नाका भएकोले, यहाँ यस्ता गतिविधि लुकेर सञ्चालन हुने सम्भावना रहन्छ । विगतमा पनि पर्सा, बारा र रौतहट क्षेत्रमा अवैध हतियारसहित व्यक्तिहरू पक्राउ परेका घटनाहरू छन् ।
भारतीय प्रहरीका अनुसार यस्ता कारखानाहरूले स्थानीय स्तरमा हतियार उत्पादन गरेर आपराधिक समूह, चरमपन्थी सङ्गठन र अन्य गैर कानुनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई आपूर्ति गर्ने गर्छन् । बिहारको मुंगेर क्षेत्र अवैध हतियार उत्पादनको प्रमुख केन्द्र मानिन्छ र घटनामा मुंगेरबाट एक व्यक्ति पक्राउ पर्नुले त्यस क्षेत्रसँगको सम्बन्धलाई पुष्टि गर्छ ।
छापामारीले भारतमा अवैध हतियार नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । विगतमा पनि बिहार, उत्तर प्रदेश र अन्य राज्यहरूमा यस्ता कारखानाहरू फेला परेका छन् ।
घटनाले नेपाल र भारत दुवै देशका सुरक्षा निकायहरूलाई सीमावर्ती क्षेत्रमा संयुक्त निगरानी र सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ । नेपाल प्रहरी र भारतीय प्रहरीले विगतमा पनि यस्ता गतिविधि नियन्त्रणमा सहकार्य गरेका छन् ।
यात्रा डेलि