जितपुर ८ बैशाख । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौं तथा सडक डिभिजन हेटौंडा, मकवानपुरले महेन्द्रराजमार्ग अन्तर्गत पथलैया–चुरियामाई खण्डमा सडक सीमाभित्र बनेका अनधिकृत संरचना हटाउन पुनः सूचना जारी गरेको छ।
२०८३ साल वैशाख ७ गते प्रकाशित सूचनाअनुसार बाराको चुरियामाई ३ नम्बर पुलदेखि चुरियामाई मन्दिर क्षेत्रसम्म सडकको केन्द्रबिन्दुबाट दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रभित्र निर्माण गरिएका घर, टहरा तथा अन्य संरचना तोकिएको मापदण्ड विपरीत रहेको जनाइएको छ।
यसअघि पनि २०७३ पुस १८ र २०८० असार ९ लगायत विभिन्न मितिमा संरचना हटाउन सूचना जारी गरिए पनि हालसम्म अतिक्रमित क्षेत्र खाली नगरिएको कार्यालयले जनाएको छ।
सोही कारण सम्बन्धित व्यक्ति तथा पक्षलाई २०८३ वैशाख १० गतेभित्र स्वेच्छाले संरचना हटाई सडक क्षेत्र खाली गर्न अन्तिम आग्रह गरिएको छ।
निर्धारित समयभित्र अटेर गरी आदेश पालना नगरे सार्वजनिक सडक ऐन, २०३१ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने समेत चेतावनी दिइएको छ।


