बाराको छातापिप्रामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा, जितपुर ८ असार । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रा स्थित वीरगञ्ज–पथलैया सडकखण्डमा आइतबार साँझ भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार साँझ करिब ५ः४० बजे जितपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ६८ प ७४९१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ सडक पार गर्दै गरेका एक पैदल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा पैदल यात्रीसहित मोटरसाइकलमा सवार दुई जना गरी तीन जना गम्भीर घाइते भएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल तथा बयोधा अस्पताल पठाइएको थियो।

उपचारका क्रममा करिब ३५ वर्षीय एक अज्ञात पुरुष पैदल यात्रीलाई नारायणी अस्पतालमा साँझ ६ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यसैगरी मोटरसाइकलमा सवार काठमाडौं टोखा नगरपालिका निवासी अन्दाजी २० वर्षीय डिजेन जोशी तथा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया निवासी प्रभु अधिकारीका अन्दाजी २० वर्षीय छोरा सभ्य अधिकारीलाई बयोधा अस्पतालमा उपचारका क्रममा साँझ ६ः०० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि सडक यातायात सञ्चालनमा कुनै अवरोध नआएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।