जितपुर ५ बैशाख । त्रिभुवन राजपथ अन्तर्गत नेपाल–भारत मितेरी पुलदेखि गण्डक नहर चोकसम्मको राष्ट्रिय राजमार्ग क्षेत्रमा सडक मापदण्ड कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ। सडक सीमाभित्र रहेका भौतिक संरचना हटाउने तयारी सम्बन्धित निकायहरूले सुरु गरेका हुन्।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, सडक डिभिजन हेटौंडा तथा वीरगंज महानगरपालिकाबाट प्राप्त पत्राचारका आधारमा उक्त सडकखण्डको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र सडक सीमा कायम गरिने जनाइएको छ।
यसै सन्दर्भमा २०८३ वैशाख ५ गते बसेको समन्वय बैठकले सडक संरक्षण, विस्तार तथा व्यवस्थापन कार्य प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको थियो। बैठकले राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी, स्थानीयवासी तथा अन्य सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ।
निर्णयअनुसार सडक सीमाभित्र पर्ने घरटहरा, पसल, गोदाम तथा अन्य सामग्री वैशाख ६ गते बिहान ४ः३० बजेसम्म हटाई स्थान खाली गर्न सम्बन्धित पक्षलाई सूचित गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले समयमै स्थान खाली गरी सडक विस्तार तथा संरक्षण अभियानमा सहयोग गर्न सबैसँग अनुरोध गरेको छ।


