बारा जिल्लाको सिमरामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयको आयोजनामा बुधबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले यस्ता कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय तथा एकरूपता बढाउने विश्वास व्यक्त गरे। उनले शिक्षा ऐन हालसम्म जारी नभएकाले शिक्षा नियमावली कार्यान्वयनमा जटिलता देखिएको बताए।
नगरप्रमुख पौडेलले उपमहानगरभित्रका धेरै विद्यालय निमित्त प्रधानाध्यापकको भरमा सञ्चालन भइरहेको स्वीकार गर्दै शिक्षक दरबन्दी अभावले यस्तो अवस्था सिर्जना भएको स्पष्ट पारे। आफू निर्वाचित भएपछि कुनै पनि योजना टुक्र्याएर वितरण नगरेको दाबी गर्दै उनले योजना कार्यान्वयनका क्रममा वडाध्यक्षहरूसँग कहिलेकाहीँ मतभेद हुने गरेको बताए।
स्थानीय तह नागरिकसँग प्रत्यक्ष जोडिएको सरकार भएकाले उजुरीहरू पनि बढी आउने गरेको उनको भनाइ थियो। सार्वजनिक पदमा रहेका व्यक्तिहरूले राष्ट्रप्रति जिम्मेवार भई नैतिकता, पारदर्शिता र कानुनी सीमाभित्र रहेर काम गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख रामकृष्ण पुडासैनीले उजुरी दर्तापछि अनुसन्धान र कारबाही प्रक्रिया कसरी अघि बढ्छ भन्नेबारे जानकारी गराए। उनले कानुनको दायराभित्र रहेर काम गर्ने वातावरण बनाउन आयोग सक्रिय रहेको बताए।
अन्तरक्रियामा भ्रष्टाचारको परिभाषा, यसको कारण, कसूर प्रमाणित भएपछिको सजाय, आयोगको कार्यप्रणाली, नेपाल तथा विश्वमा भ्रष्टाचारको अवस्था, प्रवृत्ति तथा यससम्बन्धी भ्रम र यथार्थबारे छलफल गरिएको थियो।
कार्यक्रममा उपप्रमुख भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत डम्बरु प्रसाद निरौला, कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय सर्वसाधारणको सहभागिता रहेको थियो।


