वीरगंज महानगरपालिका वडा नं. ३० ले आफ्नो क्षेत्रभित्र अश्लील गीत–संगीत बजाउन पूर्ण रूपमा निषेध गरेको छ। पछिल्लो समय विवाह, चाडपर्व, मेला तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा छाडा र द्विअर्थी गीत बजाउने प्रवृत्ति बढ्दै गएको भन्दै स्थानीयस्तरबाट गुनासो आएपछि वडा कार्यसमितिले यस्तो निर्णय गरेको हो।

वडा कार्यसमितिको बैठकबाट पारित प्रस्तावअनुसार अब वडा क्षेत्रभित्र सञ्चालन हुने कुनै पनि कार्यक्रममा अश्लील, अभद्र तथा द्विअर्थी गीत–संगीत बजाउन पाइने छैन। यदि उक्त नियमको उल्लंघन गरेको पाइएमा सम्बन्धित स्थानमा प्रयोग गरिएका साउन्ड सिस्टम (स्पीकर) तत्काल जफत गरिने जनाइएको छ।

त्यसैगरी, नियम उल्लंघन गर्ने व्यक्तिहरूलाई थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय, पर्सामा सिफारिस गरिने पनि सूचनामा उल्लेख गरिएको छ।

वडाले “सभ्य समाज निर्माण गरौं, सांस्कृतिक विकृति अन्त्य गरौं” भन्ने नारासहित यस अभियानलाई सफल बनाउन सम्पूर्ण वडावासी, टोल सुधार समिति तथा डिजे (DJ) सञ्चालकहरूको सहयोगको अपेक्षा गरेको छ।


