अपाङ्गतासम्बन्धी समाचार लेखनमा संवेदनशीलता अपनाउन सञ्चारकर्मीलाई आग्रह

सिमरा, कार्तिक १७ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सामाजिक समावेशितालाई सञ्चारमाध्यममा उचित स्थान दिनुपर्नेमा जोड दिँदै बाराको सिमरामा सञ्चारकर्मीहरूका लागि विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

नेत्रहीन युवा संघ नेपालको आयोजनामा सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा सम्पन्न कार्यक्रममा अपाङ्गतासम्बन्धी समाचार लेखन, शब्द चयन, प्रस्तुति तथा सञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिएको थियो । कार्यक्रमको अन्त्यमा अपाङ्गता समावेशितासम्बन्धी सिमरा घोषणापत्रसमेत सार्वजनिक गरिएको छ ।

कार्यक्रममा नेत्रहीन युवा संघ बाराका अध्यक्ष सुदीप चौधरीले समाचार सामग्री तयार गर्दा अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मानमा असर पर्ने शब्द तथा अभिव्यक्ति प्रयोग नगर्न सञ्चारकर्मीलाई आग्रह गरे । समाचार लेखनका क्रममा अनजानमै प्रयोग हुने गलत शब्दले सम्बन्धित व्यक्तिको सामाजिक प्रतिष्ठा र मनोबलमा असर पार्न सक्ने भएकाले पत्रकारहरू थप जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिप्रतिको सामाजिक बुझाइमा सकारात्मक परिवर्तन हुँदै गए पनि अझै विभेदपूर्ण व्यवहार र पुराना मान्यताहरू कायम रहेको बताए । उनले अपाङ्गता भएका व्यक्तिका समस्या, अधिकार र आवश्यकतालाई सञ्चारमाध्यमले नियमित रूपमा उठाउनुपर्ने धारणा राख्दै यस क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम संयोजक निलु महर्जनले अपाङ्गताको परिचय, प्रकार, समावेशीकरण, सामाजिक विभेद, कलंक तथा अपाङ्गता भएका व्यक्तिले दैनिक जीवनमा सामना गर्नुपर्ने चुनौतीबारे सहजीकरण गरेकी थिइन् । उनले अपाङ्गतालाई कमजोरीका रूपमा चित्रण गर्नुको सट्टा व्यक्तिको क्षमता, योगदान र अधिकारलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्नुपर्ने बताइन् ।

त्यसैगरी नेपाल नेत्रहीन संघका कोषाध्यक्ष सुनिल सिंहले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार स्थापित गर्न नेपालमा विभिन्न संघसंस्थाले गर्दै आएका प्रयास, सामाजिक सहभागिता र समावेशीकरणका विषयमा प्रकाश पारे ।

नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडाले अपाङ्गमैत्री सञ्चार निर्देशिका, २०७३ का व्यवस्थाबारे प्रस्तुतीकरण गर्दै अपाङ्गतासम्बन्धी समाचार तयार पार्दा पत्रकारले अपनाउनुपर्ने संवेदनशीलता, सही शब्दावली, गोपनीयता र व्यक्तिको मर्यादा संरक्षणका विषयमा जानकारी गराए ।

अभिमुखीकरणका क्रममा अपाङ्गता भएका व्यक्तिलाई सहानुभूति वा दयाको दृष्टिले नभई समान अधिकार भएका नागरिकका रूपमा समाचारमा प्रस्तुत गर्नुपर्नेमा विशेष जोड दिइएको थियो । उनीहरूको क्षमता, सक्रियता, उपलब्धि र निर्णय प्रक्रियामा सहभागितालाई प्राथमिकता दिँदै विभेद तथा बहिष्करणका विषयमा तथ्यपरक पत्रकारिता गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।

कार्यक्रमले अपाङ्गतासम्बन्धी समाचार सम्प्रेषणमा सञ्चारकर्मीको जिम्मेवारी थप स्पष्ट पार्नुका साथै समाजमा विद्यमान गलत धारणा र विभेद न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । कार्यक्रमबाट सार्वजनिक गरिएको सिमरा घोषणापत्रलाई अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र समावेशिताका सवालमा सञ्चार क्षेत्रको प्रतिबद्धताका रूपमा हेरिएको छ ।