कार्तिक ११।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले दीपावली तथा छठ पर्वलाई स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यसहित बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सिर्सिया नदीमा प्रदूषण फैलाउने गतिविधि नगर्न उद्योग तथा औद्योगिक प्रतिष्ठानलाई सचेत गराएको छ।
उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नदीमा औद्योगिक फोहोर, ढल, रसायन मिसिएको पानी तथा अन्य फोहोरजन्य पदार्थ नफाल्न सम्बन्धित उद्योगहरूलाई आग्रह गरेको हो।
छठ पर्वका अवसरमा श्रद्धालु भक्तजनले सिर्सिया नदीमा स्नान गर्ने तथा सूर्यदेवको पूजा आराधना गर्ने भएकाले नदीको स्वच्छता र पवित्रता कायम राख्न आवश्यक रहेको उपमहानगरपालिकाले जनाएको छ। नदीलाई प्रदूषणमुक्त राख्नु धार्मिक आस्था संरक्षणसँगै वातावरणीय सन्तुलन कायम गर्ने विषय पनि भएकाले यसमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।
नदी आसपास सञ्चालनमा रहेका उद्योगले आफ्नो परिसर सफा राख्नुका साथै उत्पादनका क्रममा निस्कने फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने उपमहानगरपालिकाले जनाएको छ। औद्योगिक फोहोर तथा रसायनयुक्त पानी जथाभावी नदीमा मिसाउँदा जल प्रदूषण बढ्ने भएकाले त्यस्ता गतिविधि रोक्न उद्योग सञ्चालकलाई आग्रह गरिएको छ।
उपमहानगरपालिकाले नदी प्रदूषण नियन्त्रण तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी प्रचलित कानुन पालना गर्नसमेत निर्देशन दिएको छ। जारी सूचनाको बेवास्ता गर्दै नदी प्रदूषण गरेको पाइएमा सम्बन्धित पक्षमाथि कानुनअनुसार कारबाही अघि बढाइने चेतावनीसमेत दिइएको छ।
उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिशंकर प्रसाद कुर्मीले जारी गरेको सूचनामार्फत उद्योगी, व्यवसायी तथा सरोकारवाला सबैलाई दीपावली र छठ पर्वको समयमा नदीको सरसफाइ तथा संरक्षणमा सहयोग गर्न आग्रह गरिएको छ।
उपमहानगरपालिकाले धार्मिक पर्वको गरिमा कायम राख्न र वातावरण संरक्षणमा योगदान पुर्याउन सबै पक्षको सहकार्य आवश्यक रहेको सन्देश दिएको छ।


