जितपुर, १६ असोज । पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष तथा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पक्राउ परेका छन्।
आफ्नै सालीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले जाफिरलाई बिहीवार साँझ वीरगन्जबाट पक्राउ गरेको हो। जगरनाथपुर–५ घर भई हाल वीरगन्ज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका करिब ४० वर्षीय जाफिरलाई ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार जगरनाथपुर गाउँपालिका–४ निवासी उनकी सालीको मृत्यु घटनाबारे अनुसन्धानका क्रममा जाफिर पक्राउ परेका हुन्। उनी भैंसी तथा पाडाको व्यापार गर्दै आएका थिए।
यसअघि प्रहरीले जाफिरका दाजु नासिर अहमद मन्सुरीलाई पनि पक्राउ गरिसकेको छ। नासिरलाई असोज ३ गते पक्राउ गरिएको र उनी हाल प्रहरी हिरासतमा रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


