जीतपुर, १६ असोज । जीतपुरसिमरा उपमहानगरपालिका–५ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी १५४ जनालाई निस्सा वितरण गरिएको छ।
वडा अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा बसेको वडा स्तरीय सहजीकरण समितिको बैठकले निस्सा वितरणसँगै भूमिहीन तथा अव्यवस्थित बसोबासीका दर्ता भएका फाइलहरू नगरपालिकाको भूमि व्यवस्थापन शाखामा पठाउने निर्णय गरेको हो।
वडाबाट भूमिहीन दलित २६ जना, भूमिहीन सुकुम्बासी ८४ जना र अव्यवस्थित बसोबासी ४४ जना गरी कुल १५४ जनाको फारम नगरपालिकामा पेश गर्ने निर्णय गरिएको थियो।
बैठकले अनलाइनमार्फत दर्ता गरिएका फारमका आधारमा सम्बन्धित सेवाग्राहीलाई निस्सा वितरण गर्ने निर्णयसमेत गरेको जनाइएको छ।
यसैगरी, भूमिहीन सुकुम्बासी दाबीसम्बन्धी विषयमा विनोद वैद्यको नाम सूचीबाट हटाउने निर्णय गरिएको छ। दाबी–विरोधसम्बन्धी सूचनामा देखिएको विवरणका आधारमा उक्त निर्णय गरिएको बैठकको निर्णयमा उल्लेख छ।
बैठकमा वडा सदस्यहरू ईश्वर चौधरी, ईन्दल हजरा, विमला देवी शर्मा, पुनम देवी तथा वडा सचिव राम अधार राय यादवको सहभागिता रहेको थियो।


