जितपुर १७ असोज। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वडा तहबाटै भुक्तानी प्रक्रिया सञ्चालनमा ल्याएसँगै खरिद तथा स्थानीय वित्त व्यवस्थापनसम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ। उपमहानगरपालिकाको सभाहलमा नगरप्रमुख राजन पौडेलको अध्यक्षतामा सुरु भएको तालिममा उपमहानगरपालिकाका २४ वटै वडाका वडा सचिव तथा प्राविधिक कर्मचारी सहभागी छन्।

तालिम उद्घाटन गर्दै नगरप्रमुख पौडेलले आफू निर्वाचित भएदेखि नै वडा तहबाटै भुक्तानी प्रक्रिया सुरु गर्ने पटक–पटक प्रयास गरे पनि विभिन्न कारणले त्यसबेला कार्यान्वयन हुन नसकेको बताउनुभयो। अहिले उपमहानगरपालिकामा उपसचिवस्तरको कर्मचारी पदपूर्ति भएपछि वडा तहबाट हुने भुक्तानी प्रक्रियालाई निगरानी र व्यवस्थापन गर्न सहज भएकाले वडा कार्यालयबाटै भुक्तानी प्रक्रिया सुरु गरिएको उहाँले बताउनुभयो।

नगरप्रमुख पौडेलले सार्वजनिक खरिद ऐनको उल्लंघन नहुने गरी काम गर्न वडा सचिवलाई आग्रह गर्नुभयो। सेवाग्राहीलाई प्रक्रियासँग भन्दा पनि कामको नतिजा र सेवासँग सरोकार हुने भन्दै उहाँले आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने जिम्मेवारी कर्मचारीको भएको बताउनुभयो। वडा सचिवहरू अब वडा कार्यालयको प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख र योजना प्रमुखको भूमिकासमेत निर्वाह गर्नुपर्ने भएकाले जिम्मेवारी निष्ठापूर्वक पूरा गर्नुपर्ने उहाँको भनाइ छ। काम गर्दा समस्या आउन सक्छ भन्दै काम नै नगर्ने प्रवृत्तिको अन्त्य गरी जिम्मेवारीपूर्वक काम गर्न उहाँले कर्मचारीलाई आग्रह गर्नुभयो।

वडा तहमा अधिकार प्रत्यायोजन भएपछि वडा कार्यालय आर्थिक र प्रशासनिक रूपमा थप अधिकारसम्पन्न बनेको भन्दै नगरप्रमुख पौडेलले कर्मचारीले वडामा बढी समय दिएर काम गर्नुपर्ने बताउनुभयो। अधिकारसँगै जिम्मेवारी र जवाफदेहिता पनि बढ्ने भएकाले आफ्नो कामका कारण आफैं समस्यामा नपर्ने गरी कानुन र प्रक्रियाअनुसार काम गर्न उहाँले सुझाव दिनुभयो। अधिकार वडा तहमा पुगेपछि जनप्रतिनिधि र कर्मचारीबीच जिम्मेवारी, प्रक्रिया र निर्णय कार्यान्वयनका विषयमा मतभेद हुन सक्ने अवस्थालाई समेत तालिमले सम्बोधन गर्ने अपेक्षा गरिएको छ। वडा सचिव झलक भट्टराईले नयाँ जिम्मेवारीअनुसार कर्मचारीको क्षमता बढाउँदै जनप्रतिनिधि र वडा सचिवबीच काम गर्ने क्रममा आउन सक्ने मतभेदलाई संवाद र स्पष्ट जिम्मेवारीमार्फत समाधान गर्नुपर्ने बताउनुभयो।

उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख उमेश वाग्लेले ७ सय ५३ वटै स्थानीय तहमध्ये वडा तहबाटै भुक्तानी प्रक्रिया व्यवस्थापन गर्ने कार्यमा जीतपुरसिमरा अगाडि रहेको बताउनुभयो। वित्तीय संघीयतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको भन्दै उहाँले वडा तहबाट भुक्तानी प्रक्रियामा आउने समस्या समाधानका लागि सम्बन्धित शाखा सहयोग गर्न तयार रहेको बताउनुभयो। दुईदिने तालिममा आर्थिक प्रशासन महाशाखा प्रमुख हरिशंकर राउत कुर्मी र पूर्वाधार विकास महाशाखा प्रमुख अभयकान्त झाले सार्वजनिक खरिद तथा स्थानीय वित्त व्यवस्थापनका विषयमा प्रशिक्षण दिने कार्यक्रम छ।


