दोस्रो महिला फुटबललाई ‘छैटौँ संस्करण बनाइयो’ जनताको करबाट फेरि लाखौँ खर्च तर उपलब्धि के?

दोस्रो महिला फुटबललाई ‘छैटौँ संस्करण बनाइयो’ जनताको करबाट फेरि लाखौँ खर्च तर उपलब्धि के?

बारा । बाराको जीतपुरसिमरामा आजदेखि सुरु हुन लागेको ‘छैटौँ जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता–२०८३’ को संस्करण नम्बरलाई लिएर प्रश्न उठेको छ। नाममा छैटौँ संस्करण भनिए पनि महिला फुटबल प्रतियोगिता भने यसअघि एकपटक मात्रै आयोजना भएको आयोजक पक्षले स्वीकार गरेको छ।

सिमरा भेट्रान क्लबको आयोजनामा हुने प्रतियोगिता असोज १७ देखि २४ गतेसम्म जीतपुरसिमरा–१ स्थित सिमरा रंगशालामा सञ्चालन हुँदैछ। प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित नेपाल र भारतका गरी आठ टोली सहभागी हुने आयोजकले जनाएको छ।

तर महिला फुटबल प्रतियोगिताको इतिहास हेर्दा ‘छैटौँ संस्करण’ उल्लेख गरिएको विषयले प्रश्न जन्माएको हो।
प्रतियोगिताका संयोजक हरि चौधरीले महिला फुटबल प्रतियोगिता दोस्रोपटक आयोजना भइरहेको स्वीकार गर्दै क्लबले यसअघि आयोजना गरेका चारवटा पुरुष फुटबल प्रतियोगितालाई समेत गणना गरेर यसपटकको प्रतियोगितालाई ‘छैटौँ संस्करण’ भनिएको बताएका छन्।
यसै विषयमा सिमरा भेट्रान क्लबका अध्यक्ष विजय राउतले समेत महिला फुटबलका लागि ‘छैटौँ संस्करण’ लेखिनु एक हिसाबले गलत भएको बताएका छन्।

दोस्रो प्रतियोगितालाई छैटौँ कसरी ?

एउटै नाम वा आयोजकको निरन्तरताका आधारमा विभिन्न विधाका प्रतियोगितालाई एउटै संस्करणमा जोडेर गणना गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न अहिले उठेको छ। विशेषगरी महिला फुटबललाई छुट्टै प्रतियोगिताका रूपमा आयोजना गरिएको अवस्थामा विगतका पुरुष फुटबल प्रतियोगितालाई जोडेर त्यसलाई ‘छैटौँ महिला फुटबल प्रतियोगिता’का रूपमा प्रस्तुत गर्नु तथ्यगत रूपमा कत्तिको उपयुक्त हो भन्ने विषयमा आयोजकले स्पष्ट पार्नुपर्ने देखिन्छ।

सार्वजनिक गरिएको प्रतियोगिता विवरणमा पनि यसलाई ‘छैटौँ जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता–२०८३’ भनिएको छ। आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य महिला फुटबलको विकास तथा प्रवर्द्धन गर्नु र महिला खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर प्रदान गर्नु हो।

‘अन्तर्राष्ट्रिय’ नामसँगै खर्च र उपलब्धिमाथि प्रश्न
प्रतियोगितामा भारतका दुई टोलीसहित आठ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। विजेताले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ तथा अन्य विधाका उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार दिने घोषणा गरिएको छ।
यस्तो प्रतियोगिता आयोजना हुनु आफैंमा सकारात्मक पक्ष भए पनि स्थानीय तह तथा सार्वजनिक स्रोतबाट हुने सहयोग र खर्चको तुलनामा महिला फुटबलको दीर्घकालीन विकासमा कस्तो उपलब्धि हासिल भयो भन्ने प्रश्न पनि उठेको छ।

हरेक वर्ष ठूलो बजेटमा प्रतियोगिता आयोजना गर्ने, त्यसलाई ‘अन्तर्राष्ट्रिय’को आवरण दिने तर स्थानीयस्तरमा महिला खेलाडी उत्पादन, प्रशिक्षण, पूर्वाधार निर्माण र नियमित प्रतियोगिताको स्थायी संरचना निर्माणमा कति उपलब्धि भयो भन्ने विषयमा सार्वजनिक बहस आवश्यक देखिन्छ।

खेलकुदका नाममा सार्वजनिक रकम खर्च हुँदै गर्दा प्रतियोगिताको नाम र संस्करणदेखि खर्च, उपलब्धि र दीर्घकालीन प्रभावसम्म पारदर्शी हुनुपर्ने स्थानीयको माग छ।
यसैबीच आयोजकले टिकट बिक्रीबाट संकलित रकमको १० प्रतिशत रसुवाको भोटेकोसी बाढी प्रभावितको पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ।