नेपाल–भारत सीमा क्षेत्रमा पर्ने बाराको अमलेखगञ्जमा प्रहरीले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध सहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत पर्ने इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक धन प्रसाद श्रेष्ठको कमान्डमा खटिएको टोलीले जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित प्रहरी चेकप्वाइन्टमा वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको बी आर ०१ बी यु ३४८५ नम्बरको भारतीय कारलाई रोकेर सवारी जाँच गरेको थियो ।
चेकजाँचका क्रममा कारभित्र अत्यन्त चतुरतापूर्वक लुकाइछिपाइ राखिएको ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले कारको विभिन्न भागमा जाँच गर्दा पछाडिको सिटमुनि, दायाँ–बायाँ ढोकामा विशेष रूपमा बनाइएको फल्स बटमभित्र २,१६० पत्ता (२१,६०० ट्याबलेट) ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल र कारको बायाँ साइडको अगाडि र पछाडिको ढोकाको पल्लाभित्र लुकाइएको ७६ बोतल ओनेरेक्स १०० एएल बरामद गरेको छ ।
कारबाहीमा प्रहरीले कार चालक भारतको भैसाली जिल्ला हुसेनारा – १२ बस्ने २७ वर्षीय धिरज कुमार सिंह र सोही कारमा सवार भारतको मोतिहारी जिल्ला कटगेनवा – २ बस्ने १८ वर्षीय चन्दन कुमार पटेललाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले बरामद लागूऔषध र पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध नियन्त्रणसम्बन्धी प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ । घटनालाई गम्भीर रूपमा लिँदै प्रहरीले लागूऔषधको स्रोत, गन्तव्य र तस्करीको सञ्जाल पत्ता लगाउन गहिरो अनुसन्धान थालेको छ ।
