जितपुर १६ जेष्ठ :उच्च अदालत बार एसोसिएसन, वीरगञ्जले न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निर्भीकतामाथि प्रश्न उठाउने गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेका नकारात्मक टिप्पणीप्रति गम्भीर आपत्ति जनाएको छ ।
एसोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिले स्वतन्त्र न्यायपालिकाको मर्यादा र जनआस्थामा आँच पुर्‍याउने तथा फौजदारी न्याय प्रणालीलाई कमजोर बनाउने खतरा रहेको औँल्याएको छ ।

विज्ञप्तिमा विशेषगरी गत जेठ १४ गते उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगञ्जले मोहम्मद आफताब आलमलाई दिएको सफाइ फैसलालाई लिएर अदालत र फैसला सुनाउने माननीय न्यायाधीशहरूप्रति भइरहेका टिप्पणी र अफवाहप्रति एसोसिएसनको ध्यानाकर्षण भएको उल्लेख छ ।
संस्थाका अध्यक्ष विशाल चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूले स्वतन्त्र, सक्षम र निर्भीक न्यायपालिकालाई प्रोत्साहन गर्नुपर्नेमा, अदालतका फैसला वा आदेशप्रति चित्त नबुझ्ने पक्षले कानुनी प्रक्रिया अपनाउनुपर्ने अवस्थामा तथ्यहीन र भ्रामक टिप्पणीहरूले न्याय सम्पादनको निर्भीकतामा असर पुर्‍याइरहेको छ ।”
एसोसिएसनले अदालतका फैसला र आदेशहरूमा तथ्य र प्रमाणको आधारबिना सतही विश्लेषण गरी गरिने प्रतिक्रियाले स्वतन्त्र न्यायपालिकाको मर्ममाथि गम्भीर असर पर्ने चेतावनी दिएको छ । विशेष गरी फौजदारी मुद्दाहरूमा प्रतिवादीलाई थुनामुक्त गर्ने वा सफाइ दिने फैसला भए लगत्तै न्यायाधीशहरूमाथि तथ्यहीन आरोप लगाउने प्रवृत्तिले फौजदारी न्याय प्रणालीलाई कमजोर बनाउने र न्यायालयको मनोबल घटाउने काम गरेको विज्ञप्तिमा उल्लेख छ ।

यात्रा डेलि