भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख राजेन्द्र साह अझै पनि योजनाबाट कमिसन उठाइरहेको रहस्य

: बारा जिल्लाको सदरमुकाम कलैयामा रहेको भौतिक पूर्वाधार विकास कार्यालयमा चकित पार्ने अनियमितता खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि निलम्बनमा परेका कार्यालय प्रमुख राजेन्द्र साह अझै पनि योजनाबाट कमिसन उठाइरहेको रहस्य खुलेको हो ।
स्रोतका अनुसार कार्यालयकै नाममा दर्ता गरिएको ९८५५०४९५४१ नम्बरको सिम कार्ड हाल पनि साहकै कब्जामा रहेको छ । यही नम्बरबाट साहले जिल्लामा सञ्चालित १७७ वटा विकास योजनाका उपभोक्ता समिति र ठेकेदारहरूसँग सिधै सम्पर्क गरी ५ देखि १० प्रतिशतसम्मको कमिसन माग गरिरहेको बताइएको छ ।
साहले ‘काम जे भए पनि, भुक्तानी दिलाउँछु, कमिसन तिर्नु’ भन्ने शैली अपनाउँदै आएको र उनले भुक्तानी प्रक्रियामा समेत निर्देशन दिने गरेको स्रोतको दाबी छ ।
हाल कार्यालयको जिम्मेवारीमा रहेकी प्रमुख रिम्पु यादवले सिम फिर्ता गर्न आग्रह गरे पनि साहले नमानेको खुलासा भएको छ ।
यादवले नयाँ सिम प्रयोग गरेर काम गरिरहेको बताइए पनि, स्रोतका अनुसार उनी र साहबिच मिलेमतोमै योजनाबाट कमिसन उठाउने काम भइरहेको छ । लेखा शाखा प्रमुख मुकेश प्रजापतिसमेत साहकै निर्देशनमा योजनाको भुक्तानी गरिरहेको जानकारी प्राप्त भएको छ ।

सरकारी करोडौँ रकममा सञ्चालन हुने विकास योजनाहरूमा यतिसम्मको अनियमितता हुँदा पनि कुनै प्रभावकारी निगरानी र कारबाही नभएको भन्दै सर्वसाधारण र सरोकारवालाहरू चिन्तित छन् । योजनाहरू गुणस्तरहीन रूपमा सम्पन्न भइरहे पनि कार्यालयबाट अनुगमन वा सुधारका प्रयासहरू देखिएको छैन ।
यस विषयमा राजेन्द्र साहले आफूसँग कार्यालयको नाममा दर्ता कुनै सिम नरहेको दाबी गरे पनि नेपाल दूरसञ्चार प्राधिकरणको विवरणले भने ९८५५०४९५४१ नम्बर कार्यालयकै नाममा दर्ता भएको र प्रयोगकर्ताको रूपमा साहकै नाम उल्लेख भएको पुष्टि गरेको छ ।
यसअघि पनि पटक–पटक अनियमिततामा मुछिएका साह निलम्बनमा परेपछि समेत कमिसनको खेलमा सक्रिय रहनु गम्भीर चिन्ताको विषय बनेको छ ।