जितपुर १७ चैत। जीतपुरसिमरा स्पोर्ट्स क्लबको आयोजनामा चैत २१ गतेदेखि “जीतपुरसिमरा क्रिकेट कप” सञ्चालन हुने भएको छ। प्रतियोगिता सिमरास्थित वडा नं. ४ को औराह खेलमैदानमा आयोजना गरिने जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।
प्रतियोगितामा आयोजक टिमसहित बारा, पर्सा, सर्लाही, मकवानपुर र चितवन जिल्लाका टोलीहरूको सहभागिता रहनेछ। विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्। अघिल्लो संस्करणको तुलनामा यसपटक पुरस्कार राशि वृद्धि गरिएको आयोजकले जनाएको छ। गत वर्ष विजेताले एक लाख र उपविजेताले ५० हजार प्राप्त गरेका थिए।

यसैगरी, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट बलर र ब्याटरले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितालाई मुख्य सहयोगीका रूपमा जीतपुरसिमरा उपमहानगरपालिकाले साथ दिएको छ।

यस संस्करणमा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स पनि जोडिएको छ। क्लबका संस्थापक उत्सव सिग्देलका पिता महेश सिग्देलले खेलाडीहरूलाई जर्सी हस्तान्तरण गर्दै क्रिकेटले राष्ट्रिय एकता र विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
उनले स्थानीय सरकारले आवश्यक जग्गा उपलब्ध गराएमा जनकपुर बोल्ट्स र यसको लगानीकर्ता समूह “ड्रिम स्पोर्ट्स” ले सिमरा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न इच्छुक रहेको समेत बताए। साथै, आगामी दिनमा प्रतियोगितालाई अझ सशक्त बनाउन निरन्तर सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे।
उत्सव सिग्देल हाल इयू टी–२० लिगका लागि बेल्जियममा रहेका छन्। जनकपुर बोल्ट्समा आबद्ध लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्सले बेल्जियमको जेबि ब्रुज क्लबमा समेत लगानी गरेको छ, जसमार्फत नेपाली खेलाडीहरूले युरोपियन लिगमा अवसर पाएका छन्।
कार्यक्रममा उपमेयर भोलाप्रसाद अधिकारीले जनकपुर बोल्ट्सको सहयोगको प्रशंसा गर्दै रंगशाला निर्माणका विषयमा नगरपालिकाले आवश्यक पहल गर्ने बताए।
त्यस्तै, नेपाल पत्रकार महासंघ बारा, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरू तथा सरोकारवालाहरूले प्रतियोगिताको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा सचिव सुशान्त शाहले सहजीकरण गरेका थिए भने उपाध्यक्ष समिन विष्टले प्रतियोगिताको उद्देश्यबारे प्रकाश पारेका थिए।


