सिमरा — सर्लाहीको विजयी सुरुवात, पर्सामाथि १७ रनको शानदार जित

तेस्रो जीतपुरसिमरा क्रिकेट कप अन्तर्गत सर्लाही जिल्ला क्रिकेट संघले प्रतियोगितामा उत्साहजनक सुरुवात गरेको छ। शनिबार जीतपुरसिमरा–४ स्थित औराह मैदानमा सम्पन्न खेलमा सर्लाहीले पर्सा जिल्ला क्रिकेट संघलाई १७ रनले हराउँदै पहिलो खेलमै जित दर्ता गर्‍यो।


१४६ रनको लक्ष्य पछ्याएको पर्सा टोली निर्धारित ओभर पूरा हुनुअघि नै १२८ रनमा अलआउट भयो। सर्लाहीका बलरहरू प्रभावशाली देखिए, जसमा जितेश मण्डल र अभय यादवले समान तीन–तीन विकेट लिँदै विपक्षीलाई दबाबमा राखे। राहुल महतोले दुई विकेट हात पारे भने चक्रधार यादव र अली हसनले एक–एक विकेट लिए।


पर्साका ब्याटरमध्ये वशिम मन्सुरीले २३ रन बनाउँदै सर्वाधिक योगदान दिए। अकिब अन्सारीले १८, आदर्श भण्डारीले १६ तथा चन्दन राम र हासिम अन्सारीले समान १४ रन जोडे पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सर्लाहीले २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो। जितेश मण्डलले ४६ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे भने परिमार्जन यादवले ४१ रनको महत्वपूर्ण साथ दिए। हेमन्त सिंहले १७ रन जोडे।

पर्साका तर्फबाट वशिम मन्सुरी र नितेश पटेलले समान दुई–दुई विकेट लिए भने आदर्श भण्डारी र चन्दन रामले एक–एक विकेट झारे।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका सर्लाहीका जितेश मण्डल ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले पुरस्कार प्रदान गरे। साथै जनकपुर बोल्ट्सका विष्णु लामिछानेले मण्डललाई क्लबको जर्सी प्रदान गरे।

उपमहानगरपालिकाको मुख्य सहयोगमा सञ्चालन भइरहेको प्रतियोगितामा आइतबार बारा र सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ। चैत २८ गतेसम्म चल्ने प्रतियोगितामा आयोजकसहित बारा, पर्सा, सर्लाही, मकवानपुर र चितवनका टोलीहरूको सहभागिता रहेको छ। विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।