पर्सामा ८ ग्रामभन्दा बढी खैरो हिरोइनसहित दुई युवक पक्राउ

पर्सा प्रहरीले लागू औषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान अन्तर्गत खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

मिति २०८३ जेठ २ गते राति करिब ९ः४० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ३१ कटगेनवा स्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी मिलनचोकबाट खटिएको संयुक्त प्रहरी टोलीले ना ३९ प २५३२ नम्बरको स्प्लेन्डर मोटरसाइकल रोकी चेकजाँच गरेको थियो।

भेडियाहीबाट मिलचोकतर्फ आउँदै गरेका मोटरसाइकलमा सवार व्यक्तिहरूमाथि शंका लागेपछि कानुनी प्रक्रिया पूरा गरी तलासी लिँदा उनीहरूले लगाएको पाइन्टभित्र लुकाइछिपाइ राखिएको अवस्थामा प्लास्टिकसहित ८ ग्राम ४० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ३२ परसवा निवासी २० वर्षीय राहुल सिंह र बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ खालका टोल निवासी १९ वर्षीय नन्दन गुप्ता रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिई लागू औषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले जानकारी दिएका छन्।