बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न.२१ मा प्रहरीले विशेष सूचनाको आधारमा २३६ किलो ७५० ग्राम लागूऔषध गाँजासहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–१० निवासी ३८ वर्षीय रमेश रुम्बा रहेका छन् ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायव निरीक्षक धनप्रसाद श्रेष्ठको कमान्डमा खटिएको टोलीले सोमबार दिउँसो १ बजे मकवानपुरबाट जितपुरतर्फ आउँदै गरेको बा २ ख ९५६९ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त २३६ किलो ७५० ग्राम लागू-औषध गाँजा फेला पारेको हो ।
प्रहरीले ट्रकको छतमा सिलिङभित्र फल्स बटम बनाई प्लास्टिकमा लुकाई छिपाइ राखिएको अवस्थामा गाँजा बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजय राज पण्डितका अनुसार पक्राउ परेका रमेश रुम्बा, मिनी ट्रक र बरामद गाँजासहित थप अनुसन्धान भइरहेको प्रेस विज्ञप्तिबाट जानकारी गरिएको छ ।

