जितपुर ४ पौष :मधेस प्रदेशका शिक्षा, स्वास्थ्य तथा विभिन्न पूर्वाधार क्षेत्रमा भारत सरकारको विकास सहयोग निरन्तर विस्तार हुँदै गएको छ। भारतीय महावाणिज्य दूतावास, वीरगन्जबाट प्राप्त विवरणअनुसार हालसम्म मधेस प्रदेशमा ८६ वटा विकास परियोजना स्वीकृत भइसकेका छन्। प्रत्येक परियोजनामा प्रत्येक योजनामा ३ करोडदेखि ३ करोड ५० लाख रुपैयाँ लगानी गरिएको छ भने समग्रमा २ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी रकम परिचालन भइसकेको जनाइएको छ।
स्वीकृत परियोजनामध्ये ६१ वटा योजना सम्पन्न भइसकेका छन् भने २५ वटा परियोजनाको काम हाल सञ्चालनमा रहेको छ। क्षेत्रगत दृष्टिले सबैभन्दा धेरै ५२ वटा परियोजना शिक्षा क्षेत्रसँग सम्बन्धित रहेका छन्। त्यसैगरी स्वास्थ्य क्षेत्रका ६, सडक तथा पुलका ८, नदी बाँध निर्माण १, सिँचाइ २, संस्कृति ३, विद्युत्तीकरण ५ तथा ९ वटा मिश्रित प्रकृतिका परियोजना कार्यान्वयनमा छन्।
जिल्लागत रूपमा हेर्दा धनुषा जिल्लामा सबैभन्दा बढी २१ वटा भारतीय सहयोगका परियोजना स्वीकृत भएका छन्। तीमध्ये १३ वटा सम्पन्न भइसकेका छन् भने ८ वटा योजनाको निर्माण कार्य जारी रहेको महावाणिज्य दूतावासले जनाएको छ।
भारत–नेपाल विकास सहकार्य तथा साझेदारी अन्तर्गत सञ्चालन भइरहेको उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) मार्फत विद्यालय, कलेज, अस्पताल, खानेपानी, नदी नियन्त्रणजस्ता नेपाल सरकारको प्राथमिकतामा रहेका क्षेत्रमा संरचना निर्माण र क्षमतावृद्धिका काम हुँदै आएका छन्। भारतीय महावाणिज्य दूतावासका कन्सुल जनरल देवी सहाय मीणाका अनुसार यी सबै परियोजना नेपाल सरकारसँगको सहकार्यमा स्थानीय बासिन्दाको जीवनस्तर सुधार र समग्र विकासलाई टेवा पुर्याउने उद्देश्यले कार्यान्वयनमा ल्याइएका हुन्।
यसैक्रममा शुक्रबार धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–तुल्सीयाहीस्थित बैधनाथ देव नारायण सामुदायिक विद्यालयको नव निर्मित भवन भव्य समारोहबीच उद्घाटन गरिएको छ। करिब ३ करोड ७० लाख रुपैयाँ लागतमा निर्माण भएको उक्त भवनमा ३७ वटा कक्षाकोठा, केमेस्ट्री, फिजिक्स र कम्प्युटर ल्याब, पुस्तकालय, स्टाफ रुम, कार्यालय तथा शौचालयको सुविधा उपलब्ध गराइएको छ।
गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले भारत सरकारको सहयोगमा सामुदायिक विद्यालयमा आधुनिक र व्यवस्थित पूर्वाधार निर्माण भएको बताउँदै यसले कम आय भएका परिवारका बालबालिकाका लागि गुणस्तरीय शिक्षामा पहुँच बढाउने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्ता विकास परियोजनाहरूले निरन्तरता पाउने अपेक्षा गरे।
यसका अतिरिक्त, भारत सरकारले हालसम्म नेपाललाई १०४९ वटा एम्बुलेन्स र ३८१ वटा स्कूल बस सहयोगस्वरूप उपलब्ध गराइसकेको छ। तीमध्ये मधेस प्रदेशले २३२ वटा एम्बुलेन्स र ४० वटा स्कूल बस प्राप्त गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

