थानीमाई सामुदायिक वन उपभोक्ता समूह सिमराको २०औँ साधारण सभा तथा अधिवेशन सम्पन्न

सिमरा, बारा । थानीमाई सामुदायिक वन उपभोक्ता समूह सिमराको २०औँ वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ। समूहको आफ्नै सभाहलमा आयोजित कार्यक्रम अध्यक्ष गोविन्द बहादुर अधिकारीको अध्यक्षतामा तथा डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीव झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिभिजनल वन अधिकृत झाले बारा जिल्लाका अन्य सामुदायिक वन उपभोक्ता समूहको तुलनामा थानीमाई सामुदायिक वन उपभोक्ता समूह सक्रिय, अनुशासित र उदाहरणीय रूपमा सञ्चालन हुँदै आएको बताए। वन सबै नागरिकको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षणमा सबैको समान जिम्मेवारी रहेको उनको भनाइ थियो। विश्वव्यापी रूपमा वन अतिक्रमण बढ्दै गएको सन्दर्भमा थानीमाई समूहले निरन्तर संरक्षणका कार्य गर्दै आएकोमा उनले प्रशंसा गरे।


समूहले आम्दानी र खर्चको विवरण मासिक रूपमा सार्वजनिक गर्दै आएको अभ्यासलाई अन्य सामुदायिक वन उपभोक्ता समूहले पनि अनुसरण गर्नुपर्नेमा उनले जोड दिए। साथै, वन क्षेत्रमा जम्मा हुने फोहोरलाई मलमा रूपान्तरण गरी आर्थिक लाभ लिन सकिने सुझाव समेत दिए।
उनले बारा जिल्लामा राष्ट्रिय निकुञ्ज विस्तार भएसँगै मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको उल्लेख गर्दै त्यसको न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले निरन्तर सहकार्य गर्दै आएको जानकारी दिए। विशेषगरी बेलुकीपख बाघको गतिविधि बढी देखिने भएकाले सो समयमा वन क्षेत्रमा प्रवेश नगर्न सर्वसाधारणलाई सचेत गराए।

सामुदायिक वनसम्बन्धी निर्देशिका र कार्यविधिअनुसार काम गर्दा कानुनी झन्झट नआउने स्पष्ट पारे।
कार्यक्रममा अध्यक्ष गोविन्द बहादुर अधिकारीले समूहले वन संरक्षण, व्यवस्थापन र पारदर्शितालाई प्राथमिकतामा राख्दै काम गरिरहेको बताए। उपभोक्ताको सक्रिय सहभागिताकै कारण वन संरक्षण सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा आयआर्जनमूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाए।


अधिवेशनले थानीमाई सामुदायिक वन उपभोक्ता समूह सिमराको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नयाँ कार्यसमिति अनुसार अध्यक्षमा गोविन्द अधिकारी (बिनोद), उपाध्यक्षमा अम्बिका घिमिरे, सचिवमा सारदा रिजाल, सहसचिवमा सिर्जना रिमाल तथा कोषाध्यक्षमा स्याम सुबेदी निर्वाचित भएका छन्।

साधारण सभा तथा अधिवेशनले वन संरक्षण, पारदर्शिता र समुदायको सहभागितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।