पर्सामा सशस्त्र प्रहरीद्वारा सञ्चालित सातदिने केश कर्तक तालिम सम्पन्न

पर्सा । सशस्त्र प्रहरी बल, नेपाल पर्साले सीमा क्षेत्रका बासिन्दालाई लक्षित गर्दै सञ्चालन गरेको सात दिने केश कर्तक तालिम सम्पन्न भएको छ। उक्त तालिम सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत पकाहाँमैनपुर गाउँपालिका–४ लहावरथकरीस्थित सीमा सुरक्षा गुल्म मुख्यालयमा आयोजना गरिएको थियो।

मिति २०८२ साल पौष २७ गते आयोजित समापन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै यस किसिमका सीपमूलक तालिमले स्थानीय युवालाई आत्मनिर्भर बनाउने र रोजगारीका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोकनाथ उप्रेती, पकाहाँमैनपुर गाउँपालिका वडा नं. ४ र ५ का जनप्रतिनिधि, बिओपी मिर्जापुर तथा बिओपी पकाहाँमैनपुरका प्रमुख, प्रहरी चौकी खेस्राहाका प्रमुख, पत्रकार तथा सीमा सहजीकरण समिति लहावरथकरी–४ का प्रतिनिधिहरूको उपस्थिति थियो।

त्यस्तै, सशस्त्र प्रहरी बलका दक्ष प्रशिक्षकहरू, तालिममा सहभागी प्रशिक्षार्थीहरू तथा गुल्ममा कार्यरत जुनियर अधिकृत र जवानहरू समेत गरी करिब ५० जनाको सहभागिता रहेको थियो।

सशस्त्र प्रहरी बलले यस्ता सीपमूलक तालिममार्फत सीमा क्षेत्रका स्थानीय समुदायसँग सहकार्य बढाउँदै सामाजिक–आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।