आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट गरी १ सय १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार बारा क्षेत्र नं. १ बाट २० जना, क्षेत्र नं. २ बाट २९ जना, क्षेत्र नं. ३ बाट २४ जना र क्षेत्र नं. ४ बाट ३९ जनाले उम्मेदवारी दिएका हुन्।
बारा–१ मा नेकपा एमालेका निवर्तमान सांसद अच्युत मैनाली, नेपाली कांग्रेसका शम्भुबहादुर बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल, नेकपाका सन्तोष दंगाल, जनता समाजवादी पार्टी नेपालका रामबाबु यादव तथा जनमत पार्टीका कमरुल्लाह अंसारीसहित विभिन्न दल र स्वतन्त्र गरी २० उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
यसैगरी बारा क्षेत्र नं. २ मा एमालेका बलबीर चौधरी, कांग्रेसका भैयाराम यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका चन्दन सिंह, नेकपाका रमेश प्रसाद यादव, जसपा नेपालका रामकिशोर यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु साह तेली तथा जनमत पार्टीका राजेश साहलगायत उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
निर्वाचन कार्यालयका अनुसार बाँकी क्षेत्रहरूमा पनि दलगत तथा स्वतन्त्र उम्मेदवारको उल्लेख्य सहभागिता देखिएको छ, जसले यसपटकको निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।

