जीतपुर, असार १२ – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ ले ज्येष्ठ नागरिक तथा एकल महिलाको सम्मान र स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै झुल र छाता वितरण गरेको छ।

चालु आर्थिक वर्षको वडास्तरीय बजेट अन्तर्गत बिहीबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडाभित्रका ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मानस्वरूप झुल तथा छाता हस्तान्तरण गरिएको हो।

वडा अध्यक्ष मोतिलाल राउतले पछिल्लो समय बढ्दो गर्मी, वर्षायामको सुरुवात र लामखुट्टेको बढ्दो प्रकोपलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने उद्देश्यले सामग्री वितरण गरिएको जानकारी दिनुभयो। उहाँले समाजका ज्येष्ठ नागरिक र एकल महिलाप्रति सम्मान प्रकट गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि उनीहरूको हित र कल्याणलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।

सामाजिक सुरक्षा, स्वास्थ्य संरक्षण तथा सहज जीवनयापनमा टेवा पुग्ने योजनालाई प्राथमिकताका साथ अघि बढाइने उहाँको भनाइ थियो।

कार्यक्रममा वडा सचिव सिद्धार्थ चौधरीले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले ज्येष्ठ नागरिक, एकल महिला तथा अन्य लक्षित वर्गका आवश्यकता र समस्याप्रति संवेदनशील भएर काम गरिरहेको बताउनुभयो। यस्ता कार्यक्रमले नागरिक र स्थानीय सरकारबीचको विश्वास तथा सम्बन्ध अझ सुदृढ हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।

सहभागी ज्येष्ठ नागरिक तथा एकल महिलाले वडा कार्यालयले आफ्ना आवश्यकता बुझेर सहयोग गरेकोमा खुसी व्यक्त गर्दै प्राप्त सामग्री दैनिक जीवनमा उपयोगी हुने बताएका थिए। उनीहरूले यस्ता सामाजिक तथा जनहितमुखी कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिन आग्रह गरेका छन्।
कार्यक्रममा वडा जनप्रतिनिधि, कर्मचारी, स्थानीय अगुवा तथा लाभग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वडा कार्यालयले आगामी दिनमा पनि लक्षित वर्गको जीवनस्तर उकास्ने तथा सामाजिक सम्मान अभिवृद्धि गर्ने उद्देश्यका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


