लागूऔषधविरुद्ध जितपुर प्रहरीको कडाइ, शान्तिटोलबाट गाँजासहित एक जना पक्राउ

बिशाल सरार्फ जितपुर सवन २४ गते । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ शान्तिटोलमा प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले विशेष सूचनाका आधारमा स्थानीय वीरेन्द्र बैठाको घरमा खानतलासी गर्दा गाँजा बरामद गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले बैठाको घरको आँगनबाट विभिन्न प्याकेटमा राखिएको कुल १ किलो ७४४ ग्राम गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार ७० वटा पुरियामा राखिएको ३८६ ग्राम तथा कालो प्लास्टिकमा प्याक गरिएको १ किलो ३५० ग्राम गाँजा बरामद भएको हो। गाँजासहित पक्राउ परेका बैठालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जितपुरमा राखिएको प्रहरीले जनाएको छ।

पछिल्लो समय जितपुर क्षेत्रमा लागूऔषध, चोरी तथा डकैती नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ। प्रहरीका अनुसार निरौलाले जितपुरको जिम्मेवारी सम्हालेयता करिब तीन महिनाको अवधिमा चोरी–डकैतीसम्बन्धी घटनामा संलग्न भएको आरोपमा १० जना पक्राउ परेका छन्। यस्तै, लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा ९ जनालाई ब्राउन सुगर तथा गाँजासहित पक्राउ गरिएको प्रहरीको भनाइ छ।

स्थानीयवासीले पनि पछिल्लो समय प्रहरीको सक्रियता बढेको र नियमित गस्ती तथा कारबाहीका कारण आपराधिक गतिविधिमा कमी ल्याउन सहयोग पुगेको बताएका छन्।

यसैबीच, जितपुर क्षेत्रमा विभिन्न समुदायबीचको सामाजिक सद्भाव कायम राख्दै शान्ति सुरक्षा मजबुत बनाउन प्रहरीको भूमिका सकारात्मक रहेको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार प्रहरीको निरन्तर सक्रियताले नागरिकमा सुरक्षा अनुभूति बढाएको छ।

प्रहरी प्रशासनले लागूऔषध कारोबार, चोरी–डकैतीलगायतका आपराधिक गतिविधिविरुद्धको अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।