बिशाल सरार्फ । बाराको जीतपुरमा गणेश चतुर्थीको अवसर पारेर सप्ताहव्यापी धार्मिक तथा सांस्कृतिक महोत्सव हुने भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–७ को गौशाला फिल्डमा श्री सिद्धि विनायक पूजा समितिले भदौ २९ गतेदेखि महोत्सव सञ्चालन गर्न लागेको हो।
महोत्सवलाई विशेष बनाउन यसपटक २८० किलोको विशाल लड्डु तयार पारिने भएको छ। गत वर्ष २७० किलोको लड्डु बनाइएकोमा यस वर्ष थप १० किलो बढाएर लड्डुको तौल २८० किलो पुर्याइएको आयोजक समितिले जनाएको छ।
महोत्सवको सुरुवात सोमबार धार्मिक विधिअनुसार पूजा तथा भव्य शोभायात्राबाट गरिने समितिका अध्यक्ष श्रीराम साह कानुले बताउनुभयो। शोभायात्रामा आकर्षक झाँकीसहित एक हात्ती र पाँच घोडा सहभागी गराउने तयारी रहेको समितिका सहसचिव जयसागरले जानकारी दिनुभयो।
गणेश भगवानको आरतीपछि दैनिक ५० किलो लड्डु भक्तजन तथा दर्शनार्थीलाई प्रसादका रूपमा वितरण गरिनेछ। महोत्सवभर भजन–कीर्तन, धार्मिक कार्यक्रम तथा रातिको समयमा विभिन्न झाँकी प्रस्तुत गर्ने कार्यक्रमसमेत तय गरिएको आयोजकले जनाएको छ।
धार्मिक गतिविधिसँगै महोत्सवमा मनोरञ्जनका लागि रोटे पिङ, सर्कसलगायतका साधनको व्यवस्था गरिनेछ। आयोजकले यसबाट बालबालिका, युवा तथा सर्वसाधारणका लागि महोत्सव थप आकर्षणको केन्द्र बन्ने अपेक्षा गरेको छ।
समितिका अनुसार शोभायात्रामा करिब २ हजार भक्तजन तथा दर्शनार्थी सहभागी हुने अनुमान गरिएको छ। सप्ताहव्यापी कार्यक्रम सम्पन्न गर्न करिब ७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
जीतपुरमा गणेश चतुर्थीका अवसरमा पूजा तथा महोत्सव आयोजना गर्ने परम्परा १९ वर्षदेखि निरन्तर चल्दै आएको समितिले जनाएको छ। धार्मिक विश्वास र स्थानीय परम्परालाई निरन्तरता दिने उद्देश्यले यस वर्ष पनि महोत्सवलाई व्यवस्थित र आकर्षक बनाउने तयारी भइरहेको आयोजकको भनाइ छ।


