जितपुर ३ गते सावन: बारामा तास खेलिरहेको आरोपमा सिमरा पब्लिक स्कूलका प्लस टु कोर्डिनेटर सुमन कुमार भट्टराईसहित ९ जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा प्रहरीले शुक्रबार जीतपुरसिमरा उपमहानगरपालिका–२ जानकीटोलस्थित केशव सुनुवारको घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार इलाका प्रहरी कार्यालय सिमराको टोलीले तेस्रो तलामा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनास्थलमा प्रहरी पुग्दा उनीहरू तासमा लिप्त रहेको पाइएको थियो।
प्रहरीले घर खानतलासी गर्दा तेस्रो तलाको कोठाबाट तास खेलिरहेका उनीहरूलाई नियन्त्रणमा लिएर नगद एक लाख ५४ हजार ६८० रुपैयाँ बरामद गरेको छ। प्रहरीले उनीहरूको साथबाट विभिन्न दरमा रकम बरामद गरेको हो।
पक्राउ परेकाहरूमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ३० वर्षीय सुशान्त खाती सुनार, वडा नं. २ का ४० वर्षीय बलराम विश्वकर्मा, ५६ वर्षीय सुमन कुमार भट्टराई, ४१ वर्षीय अभय श्रीवास्तव, ४१ वर्षीय घरधनी केशव सुनुवार, ५२ वर्षीय थलबहादुर विश्वकर्मा, ५४ वर्षीय शिवकुमार साह, ५१ वर्षीय राजकुमार भट्टराई र ५९ वर्षीय बलरामकुमार क्षेत्री रहेका छन्।
प्रहरीका अनुसार उनीहरूबाट क्रमशः ३३ हजार, २३ हजार २ सय, चार सय ५०, १९ हजार ७ सय ३५, छ हजार ९५, १० हजार २ सय ५०, २० हजार ६ सय, आठ हजार ५ सय ५० र ३२ हजार ८ सय रुपैयाँ नगद बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई सोही स्थानमा जरुरी पक्राउ पुर्जी थमाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सुमन कुमार भट्टराई सिमरा पब्लिक स्कूलमा प्लस टु तहका कोर्डिनेटर रहेको खुलेको छ।


