जितपुर २ बैशाख । सीमा क्षेत्रको सुरक्षा सुदृढ बनाउन तथा तस्करी, चोरीपैठारी र अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले बालेन नेतृत्वको सरकारले भारतीय सीमावर्ती क्षेत्रमा थप २ हजार २ सय ७७ सशस्त्र प्रहरी बल (एपीएफ) खटाएको जनाएको छ।
सरकारले सीमावर्ती जिल्लाहरूमा सुरक्षा निगरानी बढाउँदै आवतजावतलाई व्यवस्थित, अपराध नियन्त्रणलाई प्रभावकारी तथा सीमा नाकाहरूलाई सुरक्षित बनाउन यो निर्णय गरेको बताइएको छ।
विशेष गरी तस्करी, अवैध कारोबार, चोरीपैठारी तथा सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको सरकारी स्रोतले जनाएको छ।
यस कदमसँगै सीमावर्ती क्षेत्रमा सुरक्षा उपस्थिति बलियो हुने, स्थानीयवासीमा सुरक्षा अनुभूति बढ्ने तथा राष्ट्रको सीमा व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
सरकारले आगामी दिनमा आवश्यकता अनुसार थप सुरक्षा रणनीति अपनाइने समेत संकेत दिएको छ।


