जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ५, बकुलिया भवानीपुरस्थित ने.रा. नमुना माध्यमिक विद्यालय (बकुलिया) मा आइतबार अभिभावक संघको बैठक सम्पन्न भएको छ।
अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद चौधरीको अध्यक्षतामा तथा विभिन्न सरोकारवालाको उपस्थितिमा बसेको बैठकले विद्यालयको शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल गरी महत्त्वपूर्ण निर्णयहरू गरेको हो।

बैठकमा सदस्यहरू राजेन्द्र चौधरी, वृजमोहन चौधरी, विमला देवी पासवान, सन्तोष कुमार गुप्ता, वडा सदस्य इन्दल पासवान, पुनम चौधरी, दृश्वर चौधरी, प्रधानाध्यापक धनञ्जय गौतम, सहायक प्रधानाध्यापक लाल बहादुर चौधरी, सूचना अधिकृत कालिका प्रसाद ढकाल, विज्ञान शिक्षक सञ्जीव कुमार उपाध्याय तथा शिक्षिका पूजा सिंहलगायतको सहभागिता रहेको थियो।
बैठकले परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई पुनः सोही कक्षामा राखी सुधारात्मक शिक्षण गराउने निर्णय गरेको छ। साथै, बारम्बार विद्यालयमा अनुपस्थित हुने विद्यार्थीप्रति कडाइ गर्ने सहमति गरिएको छ।
विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक तथा व्यवस्थापन समितिको संयुक्त समिति गठन गर्ने निर्णयसमेत गरिएको छ। उक्त समितिले विद्यालयको नियमित अनुगमन गर्ने जनाइएको छ।
त्यसैगरी, अभिभावक तथा समाजका अगुवाहरूको उपस्थितिमा विद्यालयको आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय सार्वजनिक गरी पारदर्शिता कायम गर्ने तथा आगामी योजना तय गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले यी निर्णयहरू कार्यान्वयनमा आएपछि विद्यालयको शैक्षिक सुधार र व्यवस्थापन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
नगरलाई शिक्षा सुधारका लागि सुझाव
बैठकले विद्यालय शिक्षा सुधार गर्न नगरपालिकाले तत्काल चाल्नुपर्ने केही महत्वपूर्ण कदमहरू पनि अघि सारेको छ। जसअनुसार विद्यालयका प्रधानाध्यापकहरूलाई अभिभावक, शिक्षक तथा सरोकारवालासहित सर्वपक्षीय छलफल गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न लगाउने, बालविकासदेखि कक्षा ३ सम्मका कमजोर विद्यार्थी लक्षित निःशुल्क कार्यक्रम सञ्चालनको विवरण वैशाख १० भित्र माग गर्ने, कक्षा ८ का NG भएका विद्यार्थीका लागि सुधार योजना तयार गर्न निर्देशन दिने प्रस्ताव गरिएको छ।
यस्तै, विद्यालयहरूले पेश गरेका कार्यक्रमहरूको कार्यान्वयनको अवस्था अनुगमन गर्न शिक्षा शाखाबाट विशेष समिति गठन गर्ने, कमजोर विद्यार्थी लक्षित कार्यक्रमको मासिक प्रगति विवरण अनिवार्य गर्ने र प्रतिवेदन नपेश गर्ने प्रधानाध्यापकको तलब रोक्का गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।
त्यसैगरी, वैशाख १ देखि १४ गतेसम्म नेपाल सरकारको क्यालेन्डरअनुसार विभिन्न तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले सहजीकरण गर्नुपर्ने उल्लेख गरिएको छ।
यी कदमहरू तत्काल कार्यान्वयनमा ल्याइएमा शिक्षा सुधारको बलियो आधार निर्माण हुने विश्वास बैठकले व्यक्त गरेको छ।


